२६ विधामा कामना अवार्ड हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौैं, २९ बैशाख

सिने मासिक कामनाले ‘सिजी लक्स कामना फिल्म अवार्ड्स २०७६’का लागि सहभागी हुन आवेदन खुल्ला गरेको छ ।

कामना सिने मासिक प्रकाशनमा ल्याउने यस अवार्डस्को आयोजक संस्था कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठलाई अकल्पनिय रुपमा अल्पायुमै गुमाउनु परेको छ ।

नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानकै खातिर सिजी लक्स कामना फिल्म अवार्डस् आयोजनालाई अगाडि सार्नुभएका श्रद्वेय श्रेष्ठको दुखद् निधनका बिच कामना प्रकाशनले श्रेष्ठको सपना पूरा गर्नका लागि यस वर्ष पनि यो अवार्ड कार्यक्रम आयोजनालाई निरन्तरता दिने निर्णय गरेको हो ।

कामनाको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्ले आईतबार प्रेस सामग्री जारी गर्दै पांचौ संस्करणको कामना फिल्म अवार्डस् २०७६ का लागि आवेदन खुला गरेको जनाएको छ । सिजी लक्स कामना फिल्म अवार्डस् २०७६ मा २०७५ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक सिनेमा हलमा प्रदर्शनमा आएका नेपाली चलचित्रले सहभागीता जनाउन सक्नेछन् । आवेदन निःशुल्करुपमा भर्न पाइने ब्यबस्था गरिएको छ । यसका लागि कामनाको कार्यालयमा सम्पर्क राखी निःशुल्क आवेदन लिई वा न्युज अफ नेपला डट कमको लिँकमा गएर विवरण भरी कामनाअवार्ड एट जि मेल डट कममा आवेदन पठाउन सकिने व्यबस्था गरिएको छ ।

कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने सिजी लक्स कामना फिल्म अवार्डस्मा हरेक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्यांकन गर्नेछ । त्यसै गरी चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पुर्याउने एक,एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिने छ । त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिँदै आएको छ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिँदै आएको छ ।

लक्सको सहभागीतासँगै एक नयाँ विधा लक्स स्टार अफ द इयरसमेत थपिएको छ । स्टार अफ द इयर थपिएसँगै अवार्ड समारोहमा ३२ विधामा अवार्ड प्रदान गरिँदै आएको छ ।

प्रतिस्पर्धामा रहेका सम्पूर्ण २६ विधामा प्रतिष्पर्धा गर्न अनिवार्य नभएकाले प्रतिस्पर्धामा सामेल हुनलायक लागेको विधामा मात्र कलाकार तथा प्राविधिकको नाम भर्न सकिने तथा १ भन्दा बढी गीत भएको खण्डमा समेत प्रतिस्पर्धा गर्न लायक लागेको गीतको गीतकार, संगीतकार, गायक, गायिका र नृत्य निर्देशकको नाम मात्र पनि आवेदनमा भर्न सकिने व्यस्वस्था गरिएको छ ।