नजिकबाट मिस नेपाल अनुष्का


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख

२३ वर्ष अघि काठमाडौंको मखनमा जन्मिएकी अनुष्का श्रेष्ठको लक्ष्य भविष्यमा मिस नेपाल बन्नु थियो । त्यो सपना उनले यतीबेला पुरा गरेकी छिन् । फेसन डिजाईनर मुक्ता श्रेष्ठकी छोरी हुन अनुष्का । फेशन र ग्लामर उधोग प्रति आफ्नो परिवार जोडिएकाले पनि यी अनुष्काको मिस नेपाल बन्ने सपना बाल्यकाल देखि नै थियो ।

मिस नेपाल बन्नकै लागि उनले अघिल्लो वर्ष अष्ट्रेलियाको सिड्नीमा सम्पन्न मिस नेपाल ओसिनिया–२०१८ मा भाग लिईन । अनुष्काले मिस नेपाल ओसिनियाको उपाधि जितिन् । अष्ट्रेलियामा बस्दै आएका नेपाली युवा र युवतीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि मिस्टर एन्ड मिस ओसिनियाको आयोजना हुने गरेको छ ।

सोही उपाधिले अनुष्काको मिस नेपाल २०१९ मा सहभागी हुने बाट्यो खुल्यो । बिगत पाँच वर्षदेखि अष्ट्रेलियामा बस्दै आएकी अनुष्का त्यहाँको ए लेभलको कमनवेल्थ बैंकमा जागिरे थिइन् । अनुष्काले अष्ट्रेलियाको क्याथोलिक युनिभर्सिटीबाट बिजनेश म्यानेजमेन्टमा ब्याचलर गरेपछि यो बैंकमा जागिर सुरु गरेकी थिईन् । उनी उच्च शिक्षा अध्ययन गर्नकै लागि पाँच वर्ष अघि अष्ट्रेलिया पुगेकी हुन् ।

मिस नेपाल २०१९ को फारम खुलेपछि उनले मिस नेपालमा सहभागी हुने निधो गरिन् । अष्ट्रेलियाबाटै अनलाईन फारम भरिन् । त्यसपछि उनले त्यहाँको निकै राम्रो जागिर छाडिन र नेपाल आईन् । अन्तत अनुष्काले मिस नेपाल वल्र्ड २०१९ को ताज जितेकी छिन् । अष्ट्रेलियाको सुविधा सम्पन्न जागिर र त्यहाँको लग्जरियस् लाईफ छाडेकोमा यी सुन्दरीलाई अहिले पटक्कै पछुतो छैन । किनकी अनुष्काले मिस नेपाल बन्ने आफ्नो बाल्यकालको सपना पुरा गरेकी छिन् ।

यसपटक मिस नेपालको उपाधि चुमेकी अनुष्काले यो प्रतियोगितामा अरु दुई ओटा सब् टाईटल पनि चुमेकी छिन् । उनले मिस इन्टिलेक्चुअल र मिस फ्यासिनो गरी दुई ओटा उपाधी चुमेकी हुन् । यी दुबै उपाधिको राशी २५–२५ हजार रुपैयाँ थियो ।

बिहिबार काठमाडौंको किर्तिपुर स्थित ल्याब्रोटरी स्कुलको मैदानमा सम्पन्न २५ औं मिस नेपालको उत्कृष्ट सातमा पुगेकी अनुष्कालाई कार्यक्रमकी मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नामा उनले अधिकार र कर्तव्यलाई सिक्काको दुई पाटाको रुपमा चर्चा गर्दै दुबैको उत्कृष्ट महत्व दर्शाएर मिस नेपाल वल्र्ड २०१९ को ताज चुमेकी हुन् ।

मिस नेपाल वल्र्ड २०१९ बिजेता अनुष्काले आफ्नो परिवारको सपना समेत पुरा गरेकी छिन् । किनकी फेशन डिजाईनर आमा मुक्त समेत अनुष्कालाई मिस नेपालको ताजमा देख्न चाहिन्थन् । 

५ फिट ४ इन्च अग्ली यी सुन्दरीलाई अष्ट्रेलिया बस्दा नेपालमा केही गर्नु पर्छ भन्ने लगेको थियो । नेपालीहरु बिदेश गएपछि नेपाल विर्सिएको अबस्थामा आफ्नै देशमा केही गर्नका लागि उनलाई मिस नेपाल उपयुक्त प्लेटफर्म लाग्यो । त्यसैले उनी यो कार्यक्रममा सहभागी भईन् । मिस नेपाल अनुष्का अब सामाजिक कार्यमा पनि सक्रिय हुनेछिन् ।

अबको ६ महिनपछि चिनको सान्या सहरमा आयोजना हुने मिस वल्र्ड २०१९ मा सहभागी हुन अनुष्काले चाँडै नै तयारी सुरु गर्नेछिन् । विश्वकै सुन्दरीहरुको सबैभन्दा ठुलो यो प्लेटर्फममा सहभागी हुनु अघि उनले ब्युटी विथ पर्पोज अवार्डका लागि उत्कृष्ट सामाजिक कार्य पनि गर्नु पर्नेछ । गत वर्ष मकवानपुरका चेपाङका बालबालिका र महिलाहरुको लागि शिक्षा र प्रजनन स्वास्थ्यमा काम गरेकै कारण मिस नेपाल २०१८ सृँखला खतिवडाले मिस वल्र्डमा ब्युटी विथ पर्पोज तिजेर आफुलाई उत्कृष्ट १५ को सूचीमा पारेकी थिईन् । अहिले अनुष्कालाई पनि यो उपाधि जित्नु पर्ने दवाव छ । यतीमात्र हैन, मिस वल्र्डमा सृँखलाले पाएको चर्चा अनुसार नै अनुष्काले पनि आफुलाई चर्चित बनाउनु छ । त्यसको लागि उनले अहिले देखिनै तयारी गर्नु पर्ने भएको छ ।

अनुष्काले सामाजिक कार्यमा पनि हात हाल्ने बताएकी छिन् । एक वर्षसम्म त उनी अब मिस नेपालकै प्रोजेक्टमा व्यस्त रहने छिन् । यो अवधिमा उनले विश्व बन्यजन्तु सँरक्षण कोष लगायतका संस्थासँग मिलेर पनि सामाजिक कार्य गर्नेछिन् । त्यसपछि उनले आफ्नो यात्रालाई कुन पेशामा मोड्नेछिन् । त्यो भने प्रतीक्षाको बिषय बनेको छ ।