अनुष्काले चुमिन २५ औं मिस नेपाल वल्र्डको उपाधि


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ बैशाख

२५ औं मिस नेपाल वल्र्र्ड–२०१९ को उपाधि काठमाडौंकी २३ वर्षीया अनुष्का श्रेष्ठले चुमेकी छिन् । बिहिबार बेलुका कठमाडौंको किर्तीपुर स्थित ल्याब्रोटरी स्कुलका चौरमा सम्पन्न मिस नेपालका अन्तिम प्रतिस्प्र्धामा आफ्ना २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले मिस नेपाल वल्र्ड २०१९ को ताज जितेकी हुन् । गत वर्ष मिस नेपाल ओसन २०१८ को उपाधि जितेकी अनुष्का केही वर्षदेखि अष्ट्रेलिया बस्दै आएकी थिईन् ।

ब्यबस्थापनमा स्नातक अनुष्का यही कार्यक्रमका लागि नेपाल आएकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् । उपाधिसँगै एक लाख रुपैयाँ र अब चीनको सान्यामा हुने मिस वल्र्ड २०१९ मा अनुष्काले नेपालको प्रतिनिधित्व गरेर भाग लिने अबर पनि उनले जितेकी छिन् । उनले २५–२५ हजार रुपैयाँ सहितको मिस इन्टिलेक्चुअल र मिस फ्यासिनोको उपाधि पनि प्राप्त गरिन् । 

सोही प्रतियोगितामा ‘मिस नेपाल यूनिभर्स–२०१९’को उपाधि काठमाडौंकी २२ वर्षीया प्रदिप्ता अधिकारीले हाँसिल गरेकी छिन् । एमबिबिएसकी विधार्थी प्रदिप्ताले पनि एक लाख रुपैयाँ सहित मिस युनिभर्स २०१९ मा भाग लिने अबसर प्राप्त गरेकी छिन् । उनले २५–२५ हजार रुपैयाँ सहितको मिस ट्यालेन्ट र एथेलेटिक्सको उपाधि पनि जितिन् ।

यस्तै ‘मिस नेपाल अर्थ २०१९’को उपाधि रिया बस्नेतले जितेकी छिन् । काठमाडौंकी २३ वर्षीया रियाले मिस अर्थ २०१९ मा भाग लिने छिन् । उनले पनि उपाधि सहित एक लाख रुपैयाँ प्राप्त गरेकी छिन् । उनी बिबिएकी विधार्थी हुन् । उनले २५ हजार रुपैयाँ सहितको मिस पपुलर च्वाईस (सबै भन्दा धेरै एसएमएस भोटिङ)को उपाधि पनि जितिन् ।

‘मिस नेपाल इन्टरनेशनल २०१९’को उपाधि भक्तपुरकी २३ वर्षीया मिरा कक्षपतिले हाँसिल गरिन् । उनले पनि एक लाख रुपैयाँसहित मिस इन्टरनेशनल २०१९ मा सहभागिता जनाउने अबसर जितेकी छिन् । मिराले २५ हजार रुपैयाँ सहितको मिस ब्यूटिफूल हेयरको उपाधि पनि हाँसिल गरिन् ।

मिस नेपाल सुप्रानेशनल–२०१९ काठमाडौंकी २० वर्षीया रोज लामा भएकी छिन् । प्लस टु गरेकी रोजले एक लाख रुपैयाँ सहित मिस सुप्रानेशलनमा भाग लिने अबसर पनि हाँसिल गरेकी छिन् । रोजले मिस ग्ल्यामर र मिस फोटोजेनिकको उपाधि पनि प्राप्त गरिन् ।

हिडन ट्रेजरद्धारा आयोजित २५ औं संस्करणको मिस नेपालमा यो बर्षको २५ जना सहभागी थिए । २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले चयन भएका थिए । उत्कृष्ट सातमा परेर पनि रक्षा उप्रेती, सोफिया भुजेलले मुख्य पाँच उपाधि चुम्न सकेनन् ।

यी पाँच उपाधिसँगै विभिन्न १२ शिर्षकहरुको उपाधिमा पनि प्रतियोगी बिच प्रतिस्पर्धा भएको थियो । उनीहरुले जनही २५ हजार रुपैयाँसहित अन्य शिर्षकका उपाधि हाँसिल गरे । जसमा जसमा मिस न्याचुरल स्किनको उपाधि जेनी महर्जनले, मिस कन्फिडेन्टको उपाधि निशा पाठकले, ब्यूटी विथ दि प्रपोजको उपाधि निकिता कर्माचार्यले र मिस फ्रेन्डसिपको उपाधि न्यान्सी बोगटीले हाँसिल गरे ।

यो प्रतियोगिताका निर्णायकमा इला शर्मा, अभिनेता अनुप विक्रम शाही, अभिनेत्री सन्नी रौनियार प्रधान, पूर्व मिस नेपाल अश्मी श्रेष्ठ, सांसद नवराज सिलवाल, नेपाली सेनाका अबकास प्राप्त रथी पवन बहादुर पाण्डे, व्यबसायीहरु ओम बहादुर भन्डारी, तुविजा अग्रवाल, राजिव शाह, सुनिता लिम्बु खरेल र विदुषी राना थिए ।

कार्यक्रममा गायक दिपक बज्रचार्यको नृत्य सहित ‘मनमगन’ बोलको निकै आकर्षक थियो । कार्यक्रमकी कोरियोग्राफर रचना गुरुङ शर्माको अंग्रेजी गीतको प्रस्तुतिलाई दर्शकल बेकारको उपाधि सहित मञ्चको दुरुपयोगको सँज्ञा दिए । स्वर भासिएका कारण उनले राम्रो गाउन सकिनन् ।