२०७६ मा अनमोलको फिल्म नआउने


सरिता भारती, ब्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख

अभिनेता अनमोल केसीको २०७६ सालमा नयाँ चलचित्र नआउने भएको छ । किनकी अभिनेता अनमोल केही सयम फिल्म खेल्ने मुडमा छैनन् ।

उमेरले २५ वर्ष पुगेको अभिनेता अनमोल केसीले २४ बैशाखमा ब्रतबन्ध गरेका छन् । कार्य व्यस्तता लगायत विभिन्न कारणले उनले यस अघि ब्रतबन्ध पनि गर्न भ्याएका थिएनन् ।

ब्रतबन्धको क्रममा धार्मिक रित अनुसार उनले आफ्नो कपाल खौरिएका छन् । तर अभिनेता अनमोलले सो फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छैनन् ।

चलचित्र ए मेरो हजुर ३ को बुधबार सम्पन्न सक्सेसफुल पार्टीमा पुगेका अनमोल केसी टोपीमा थिए । सो टोपीले पनि उनको कपाल खौरिएको प्रस्ट हुन्थ्यो ।

अभिनेता अनमोलको ब्रतबन्धमा खौरिएको यो कपाल लामो हुन कम्तिमा पनि तीन महिना लाग्छ । सोही कारण पनि उनी अहिले फिल्म खेल्ने पक्षमा छैनन् ।

२०७५ सालमा ब्याक टु ब्याक उनको दुई ओटा फिल्म ४२ दिनको अन्तरमा रिलिज भयो । चलचित्र क्याप्टेन १७ फागुनमा रिलिज भएको थियो भने त्यसको लगत्तै २९ चैतमा उनको अर्को चलचित्र ए मेरो हजुर ३ रिलिज भएको हो । यी दुई चलचित्रको निर्माण देखि प्रचार प्रसारसम्ममा पुरा समय दिएका अनमोलले धपेडीको महसुस गर्नु पर्यो । सोही कारण पनि उनी अब केही समय आराम गर्न चाहन्छन् ।

२०७७ साल नयाँ वर्षको अबसरमा आगामी २८ चैतमा अनमोल केसीको नयाँ फिल्म भागवत गीता ल्याउने तयारी हुँदैथियो । तर अब त्यो मितिमा चलचित्र भागवत गीता आउने सम्भावना टरेको छ ।

अनमोलको पछिल्लो चलचित्र ए मेरो हजुर ३ले यसपट राम्रो व्यापार गर्यो । सोही कारण बुधबार काठमाडौंमा एक समारोहबीच अभिनेता अनमोल केसीले ए मेरो हजुर ३ को टिमसँग सक्सेस पार्टी मनाए । यही चलचित्रबाट डेब्यु गरेकी अभिनेत्री सुहाना थापाको २१ औं जन्मदिनको अबसर पारेर काठमाडौंको पाँच तारे होटल अन्नपूर्णमा भव्य समारोहबीच अभिनेत्री सुहानाको जन्मदिनसँगै फिल्म ए मेरो हजुर ३ को सक्सेसफुल पार्टी मनाईयो ।

यही सक्सेसफुल पार्टीमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापालाई लिएर निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले नयाँ चलचित्र भागवत गीता घोषणा गर्ने भएका थिए । तर अभिनेता अनमोलले आगामी माघ फागुनबाट मात्र नयाँ फिल्ममा काम गर्ने चाहना देखाएपछि चलचित्र भागवत गीता अब आगामी नयाँ वर्षमा आउने छैन् । नयाँ वर्षको अबसर पारेर २८ चैतमा आउने अर्का अभिनेता प्रदीप खड्काको चलचित्र प्रेम गीत ३ रिलिज हुनेछ । यसरी अनमोलको फिल्म त्यो मितिमा आउँदा अब अभिनेता प्रदीप खड्कालाई फाईदा पुग्ने भएको छ ।

ए मेरो हजुर ३ का निर्माता सुनिल कुमार थापाका अनुसार अब बन्ने फिल्मको नाम ए मेरो हजुर ४ राख्ने या भागवत गीता राख्ने भन्ने बारे स्पष्ट भईसकेको छैन् । चलचित्रको कथा तयार भए पनि यी दुई ओटा नाम मध्य कुन राख्ने भन्ने टुँगो नलागेको निर्माता सुनिल कुमार थापाले बताएका छन् ।

निर्माता थापाका अनुसार यी दुई मध्य जुन नाम राखे पनि फिल्मको मुख्य नायक र नायिकामा अनमोल केसी र सुहाना थापा नै हुनेछन् । यो फिल्ममा काम गर्न अभिनेता अनमोल सहमत भईसकेका छन् । यो चलचित्रलाई आगामी २०७७ साल भदौमा रिलिज गरिने भएको छ । फागुनदेखि छायाँकन सुरु गरेर २०७७ भदौमा रिलिज गर्ने तयारीमा आफुहरु रहेको पनि निर्माता सुनिल कुमार थापाको भनाई छ । यसरी अनमोल केसीको २०७६ सालमा नयाँ फिल्म आउने सम्भावना देखिएको छैन् ।

चलचित्र क्याप्टेनपछि अनमोलकै गृह व्यानरबाट अर्को पनि फिल्म बन्ने भएको छ । अनमोलका बुव भुवन केसी अहिले नयाँ फिल्मको लागि स्कृप्टको तयारीमा छन् । यो नयाँ फिल्म लभ स्टोरी जनरामा हुने र २०७६ सालमै निर्माण सुरु गरिने छ । त्यो फिल्म पनि २०७७ सालमै रिलिज हुनेछ ।

तसर्थ अभिनेता अनमोल केसीका फ्यानहरुले २०७६ सालमा आफ्ना यी मेघा स्टारलाई चलचित्रको पर्दामा देख्न पाउने छैनन् । यसका लागि उनीहरुले २०७७ सालनै कुर्नु पर्नेछ ।