दाल भात तरकारी ११० हालबाट एकसाथ


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, २० बैशाख

मह जोडीको यो वर्षको प्रतीक्षारत चलचित्र दाल भात तरकारी आज शुक्रबारबाट मुलुकका एक सय १० ओटा सिनेमा हलमा रिलिज भएको छ ।

काठमाडौं र मोफसलका हलहरुमा यो चलचित्रको दुई दिन अघि नै बुकिङ खोलिएको थियो । यसको अग्रिम टिकट बुकिङ पनि आक्रमक छ । शुक्रबार काठमाडौंका ६० प्रतिशत शोहरु अग्रिम हाउसफुल भईसकेको निर्माता किरण केसीले जानकारी गराएका छन् ।

काठमाडौंका कुमारी, क्युएफएक्स सिभिल मल, लविम मल, क्युज, बिएरआर लगायतका सिनेमा हलमा शुक्रबार दिउँसो साँझको शो अग्रिम बुकिङ फुल भईसकेको छ । चितवनको जल्मा हलमा पनि तीन ओटा शो अग्रिम हाउसफुल भईसकेको यसका किरण केसीले जानकारी गराएका छन् । उनका अनुसार अघिल्लो चलचित्र शत्रुगते भन्दा आक्रमक र धेरै अग्रिम बुकिङ दाल भात तरकारीको भईरहेको छ ।

यो चलचित्रको शुक्रबार बिहान कुमारी हलमा विशेष प्रदर्शनी राखिएको थियो । सिनेकर्मीदेखि सञ्चारकर्मीसम्मले दाल भात तरकारी हेरेर राम्रो प्रतिक्रिया दिए । एउटा राम्रो सामाजिक चलचित्र बनेको उनीहरुको भनाई थियो ।

नेपालीहरुको बिदेश पलायनको लहर चलेपछि त्यसलाई रोक्न महजोडी मह सञ्चारले यो चलचित्र निर्माण गरेको हो । यसलाई अग्रज हास्यब्यँग्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, किरण केसी, शिबहरि पौडेललगायतले बनाएका हुन् । यो चलचित्रको कथा बरिष्ट कलाकार हरिबँशले लेखेका हुन् ।

चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । यसै फिल्म मार्फत सुदनले निर्देशनमा डेब्यु गर्दैछन् । जसमा शम्भुजीत बासकोटाको संगीत छ । चलचित्रको गीतहरु भिजिट भिसामा… र दाल भात तरकारी…अहिले हिट छ । गीत संगीतको कारण पनि चलचित्रलाई फाईदा पुगेको छ ।

यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, प्रियँका कार्की, आँचल शर्मा, बर्षा राउत, शिवहरी पौडेल, बसुन्धरा भुषाल, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका छ ।