ब्युटी न्युज नेपाल
काठमाडौं, १९ बैशाख

अभिनेत्री श्वेता खड्का अकस्मत बिरामी भएपछि चलचित्र हेलो जिन्दगीको छायाँकन प्रभावित भएको छ । उनी अस्पताल भर्ना भएपछि यो चलचित्रको छायांकन रोकिएको हो । अब तीन दिन पछि बाँकी छायाँकन रोकेर यो चलचित्रको युनिट नेपाल फर्कने भएको छ ।

चार दिन अघि घाँटीको अप्रेसन गरेकी अभिनेत्री श्वेता अहिले दिल्लीमा स्वास्थ्य लाभ गरिरहेकी छिन् । उनले यो फिल्म नखेल्ने भएपछि हेलो जिन्दगीले अर्को नायिका अुबन्धित गर्नु पर्ने भएको छ ।

गत साता यो फिल्मको छायांकनका लागि लन्डन पुगेकी श्वेताले जम्मा दुई दिन मात्र छायांकन गरेकी थिइन् । तेस्रो दिन गर्धनको पीडाले उनले काम गर्न नसक्ने भएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि लन्डनबाट दिल्ली पठाइएको थियो ।

यसै बिषयमा निर्देशक एभरेस्ट सूर्य बोहराले ब्युटी न्युज नेपालसँग कुरा गर्दै भने,‘हाम्रो लागि चलचित्रभन्दा जीवन ठूलो कुरा भएकाले उहाँको पीडादायी अवस्था देखेर चलचित्रको छायांँकन रोक्दै हामीले उपचारका लागि पठायौं । उहाँको दिल्लीमा घाँटीको अपरेसन राम्रोसँग भएको जानकारी पाएका छौं र उहाँको स्वास्थ्य लाभको कामना गर्दछौं ।’ निर्देशक बोहराले भने, ‘समयमै उहाँलाई उपचारमा नपठाएको भए निकै ठूलो समस्या निम्तिने रहेछ । तसर्थ, हामीलाई हाम्रो फिल्मको छायांकन रोकिएको भन्दा श्वेताजीको अपरेसन सफल भएकोमा सन्तोष मिलेको छ ।’

यता अपरेसनपछि अभिनेत्री श्वेताले केही साता आराम गरेर घाँटीको पुनः फिजियोथेरापी सुरु गर्नुपर्नेछ । किनकी अहिले उनको घाँटीसँगै मुहार बाँगो भएको छ । थेरापीपछि बल्ल उनको घाँटी र मुहार सीधा र राम्रो हुनेछ । उनको घाँटी पूर्ण ठीक भएपछि मात्र काममा फकर्न चिकित्सकहरूको सुझाव छ । यसका लागि अझै तीन÷चार महिना लाग्ने भएको छ ।

अहिले लन्डनमा रहेको निर्माण टोलीले आधा सिनेकर्मी चार दिन अभि नै काठमाडौं फर्काइकेको छ । निर्देशक एभरेस्ट सूर्य बोहराले आफूहरू पनि केही दिनमै छायाँंकन रोकेर नेपाल फर्कने बताएका छन् ।
तीन साताअघि चलचित्र हेलो जिन्दगी छायांँकनका लागि युनिट बेलायत पुगेको थियो । अहिलेसम्मको कामबारे निर्देशक बोहराले भने, ‘हाम्रो सुटिङ सेड्युल ३४ दिनको राखिएकोमा १९ दिनको छायांकन सक्यौं । जसमा श्वेताजीको काम सुरु मात्र भएको थियो ।’

उनले अगाडि थपे,‘हामी अब तीन दिनको बाँकी काम गरेर नेपाल फर्कनेछौं र श्वेताजीको स्वास्थ लाभको प्रतिभा गर्नेछौं । उहाँको अवस्था हेर्दा कामै गर्न नसक्ने देखियो भने मात्र अर्को नायिका लिनेछौं, नत्र उहाँलाई नै अभिनय गराएर फिल्म सक्ने हाम्रो लक्ष्य छ ।’ श्वेताले अहिले फिल्म खेल्न नसक्ने बताए पनि आफूहरू उनको पूर्ण स्वास्थ लाभको प्रतीक्षामा रहने निर्देशक एभरेस्ट सूर्य बोहराले बताए । नेपाल आएपछि श्वेता वा अर्को नायिकाको राख्ने भन्ने निर्णय गरेर बल्ल बाँकी छायाँकन अघि बढाउने पनि निर्देशक बोहराले बताए ।

श्वेताले काम गर्न नसके पनि उनी फिल्म हेलो जिन्दगीको टिममा रहेको बताउँदै निर्देशक बोहराले भने, ‘यो फिल्ममा श्वेताजीले काम गर्न सक्नुभएन भने पनि म अर्को फिल्ममा उहाँसँग काम गर्नेछु ।’
३ करोडभन्दा महँगो बजेटको यो फिल्ममा श्वेतासँगै दीपिक प्रसाईं, विल्सनविक्रम राई, विक्रान्त बस्नेत, सूर्य बोहरा, विक्रम जोशीलगायतको मुख्य भूमिका छ ।