पसिना युनिटले मनायो मजदुर दिवस


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ बैशाख

२७ वैशाखबाट रिलिज हुने चलचित्र पसिना युनिटले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा र्यालीको आयोजना गरेको छ । मजदुरहरूको श्रमको सम्मान हुनुपर्ने भन्दै उनीहरुले र्याली निकालेका हुन् ।

र्याली  माइतीघर मण्डलमा सभामा परिणत भएको थियो । चलचित्र पसिनाका निर्माता शान्ता ढकाल, सञ्जय महतो, निर्देशक आरबी खत्री (सरद), कलाकार, प्राविधिकसँगै सहयोगी सिनेकर्मीहरू सो र्यालीमा सहभागी भएका थिए । मजदुरको कथालाई समेटर आफूहरूले चलचित्र पसिना निर्माण गरेको र फिल्मले मजदुरको पसिनाको मूल्य र उसको मानव अधिकारको आवाज उठाएकाले आफूहरू मजदुरको पक्षमा र्याली गरेको निर्माण पक्षले जनायो ।

सभामा बोल्दै बरिष्ट अभिनेता जयनन्द लामाले कलाकारहरू पनि एक प्रकारका मजदुर नै भएको जिकिर गरे । यो चलचित्रमा जयनन्दसँगै गौरव पहारी, अनु शाहलगायतका कलाकारको मुख्य भूमिका छ ।

सभामा बोल्दै निर्देशक आरबीले मजदुरको हकहितको कुरा चलचित्रले बोल्ने भएर मजदुर दिवसको दिन भेला भएर र्याली गरेको बताए, ‘जबसम्म मजदुरको आवाज बुलन्द हुँदैन, उनीहरूको समस्या समाधान हुँदैन । तबसम्म देश समृद्ध बन्न सक्दैन,’ निर्देशक खत्रीले भने ।

‘गरौं सत्कर्म, बगाऊँ पसिना’ भन्ने नारासहित आफूहरूले बताएको चलचित्रले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको निर्देशक आरबी खत्री सरदले बताए ।

यो चलचित्रको ‘हावा चल्यो सिरिरी…’ गीतको भिडियो पनि अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार नै रिलिज गरिएको छ । गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको छ । नारद रिजालले लेखेको यो लोकलयको गीतमा चलचित्रका मुख्य कलाकारको अभिनय छ ।