रमेशले जिते इमेज लोक कलाकार २ को उपाधि


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ बैशाख

‘ईमेज लोक कलाकार सिजन–२’ को उपाधि रामेछापका उदयमान लोक गायक आरके (रामकुमार) नेपालीले जितेका छन् । लोक दोहोरी गायनमा लागेका कलाकारहरुबीचको प्रतिस्पर्धा मुलक यो कार्यक्रम काठमाडौंमा शुक्रबार अबेरसाँझ सम्पन्न भएको हो ।

लोक कलाकार सिजन–२को अन्तिम प्रतिस्पर्धामा परेको पाँचलाई पछि पार्दै गायक नेपालीले लोक कलाकार सिजन २ को उपाधी जितेका हुन् । यी गायकले लोक कलाकार सिजन–२ के उपाधिसँगै डेढ लाख रुपैयाँ र एउटा गीत रेकर्ड गराएर म्युजिक भिडियो निर्माण गर्ने अबसर पनि जितेका छन् ।

यसका लागि विभिन्न चरण पार गरेर अन्तिम प्रतिस्पर्धामा चयन भएका उत्कृष्ट पाँच प्रतियोगिमा बत्ती थापामगर, भगवती खाती, शीतल गुरुङ, रामकुमार नेपाली र मोहन केसी थिए । जसमा पब्लिक च्वाई तर्फको अवार्ड भने शितल गुरुङले जितेका छन् । अन्तिम पाँचमा पुगेका प्रतियोगीले फाईनल समारोहमा एक एक ओटा चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

एक हजार भन्दा बढी कलाकारबाट विभिन्न चरण हुँदै अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट पाँच चयन भएका थिए । यो प्रतियोगिता इमेज च्यानलबाट ८ महिनादेखि हरेक साता प्रस्तुत हुँदै आएको थियो । जसका लागि मुलुकका विभिन्न स्थानमा गरिएको अडिसन राउण्डमा एक हजार बढी कलाकार सहभागी थिए ।

नेपाली लोकसंगीतको संरक्षण र श्रीवृद्धिका लागि विगत दुई वर्षदेखि लोक कलाकार रियालिटी शो गर्दै आएको इमेज गू्रप अफ कम्पनीजनका अध्यक्ष आरके मानन्धरले बताए । यसले लोक संगीतका सर्जकहरुलाई प्रोत्साहन र नयाँ पुस्तालाई मञ्च प्रदान गरेको पनि उनले बताए । यो प्रतियोगिताको निर्णायकमा कलाकारहरु तारा थापा, तुलसी पराजुली र रमेश बिजी थिए ।