ड्रेस टू इम्प्रेसमा ७१ जनाको डिजाईन, सोनीको डिजाईन उत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ बैशाख

बालुवारस्थित आम्रपाली ब्याङ्क्वेटमा मंगलबार साँझ युवा युवतीले थरी थरीको फेशन डिजाईन प्रस्तुत गरे । विभिन्न आकर्षक एवं मनमोहक डिजाइनका पहिरनहरुमा चिटिक्क सजिएर त्यहाँ ७१ जना पालै पालो र्याम्पमा उत्रिए ।

काठमाडौंको बगबजार स्थित इन्टरनेशनल इन्टिच्युट अफ फेशन टेक्नोलोजी (आईआईएफटी)ले आयोजना गरेको ड्रेस टू इम्प्रेस फेशन डिजाईन प्रतिस्पर्धामा उनीहरुले आफ्ना फेशन प्रस्तुत गरेका हुन् ।

आईआईएफटीका विधाथीहरुले आफ्ना लागि तयार पारेको पहिरन र सोही पहिरनलाई मोडल जस्तै विभिन्न हावभाव दिंदै रनवेमा प्रस्तुत गरेका थिए । आईआईएफटीका विद्यार्थीले ड्रेस टू इम्प्रेस प्रतियोगितामा आफूलाई फेशन डिजाईनरसँगै आफुले तयार पारेको पहिरनमा सजिएर मोडलको रुपमा पनि र्याम्पमा प्रस्तुत गरे ।

कार्यक्रमले गति लिएसंगै फिटेड गाउन, लेहेंगा, ककटेल, कल्चुरल तथा फ्लो गाउन अन्तर्गतका डिजाइनहरु विद्यार्थीले प्रस्तुत गरे । कोरियोग्राफर विपना थापाले कार्यक्रमको निर्देशन गरेकी थिइन् ।

कार्यक्रमको निर्णायकमा फोटोग्राफर राजभाई सुवाल, हेयरस्टाइलिष्ट नील डेविड कटवाल, फेसन डिजाइनरद्धय विश्व गौतम, राजु सुवाल र गायिका एवं नायिका विष्णु चेम्जोङ थिए ।

करिब दुई घण्टा प्रस्तुति गरिएको सो कार्यक्रममा ड्रेस टू इम्प्रेसको उपाधि कालो रंगको फ्लो गाउन बनाएकी सोनी श्रेष्ठले जित्दै विजेता घोषित भईन् । उनले १५ हजार रुपैयाँ र ट्रफी पनि जितिन् । यस्तै मयुरबाट प्रभावित ककटेल पहिरन बनाएकी स्वेता शाक्यले फस्ट रनर अपको उपाधि सहित १० हजार रुपैयाँ ट्रफी प्राप्त गरिन भने टाईडाई गरी तयार पारिएको लेहेंगा बनाएकी शारह बानियाँले सेकेन्ड रनर अप हुँदै ८ हजार रुपैयाँसहित अवार्ड थापिन् ।

कार्यक्रममा गायकद्वय लाक्पा शेर्पा, प्रवेश मान शाक्य तथा गायिका विष्णु चेम्जोङले आफ्ना गीतहरु सुनाएका थिए ।