पोइ पर्यो कालेमा सौगात, सृष्टी र सोहित पनि अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ बैशाख

निर्देशक शिशिर राणाको नयाँ चलचित्र ‘पोइ पर्यो काले’ मा  निश्चल बस्नेतलाई कालेको भूमिकामा प्रस्ताव गरिएको थियो । तर निश्चल नयाँ चलचित्र कबड्डी ३ मा अनुबन्धित भएपछि निर्देशक राणाले यो भूमिकाको लागि अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेका छन् ।

यो चलचित्रमा यस अघि नै अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अनुबन्धित भईसकेका छन् । अभिनेता सौगात यो फिल्ममा बिहिबार अनुबन्धित भएका हुन् ।

यस्तै दोश्रो नायिकाको रुपमा यो चलचित्रमा सृष्टी श्रेष्ठ र अर्का नायकका रुपमा सोहित मानन्धर पनि शुक्रबार अनुबन्धित भएका छन् । अब बाँकी केही मात्र कलाकारलाई अनुबन्धित गरेर कार्यशाला सुरु गर्ने निर्देशक राणाले बताएका छन् ।

चलचित्रको छायाँकन जेठबाट सुरु गर्ने निर्देशक राणाको भनाई छ । यो चलचित्रको प्रस्तुतकर्ता श्यामबहादुर थापा, कार्यकारी निर्मातामा रघु परियार र किरण नेपाली, निर्मातामा प्रदेश सभा सदस्य दिपक मनाङ्गे रहेका छन् । यसमा पुरुषोत्तम न्यौपाने र शिव गौतमको संगीत रहनेछ । चलचित्र पोइ पर्यो काले आउँदो तिहारको अबसर पारेर ८ कात्तिकमा रिलिज गरिने घोषणा गरिएको छ ।