कलँकीमा राम मन्दिर उद्घाटनसँगै पुजापाठ


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ बैशाख

काठमाडौंको कलँकीस्थानमा राम मन्दिर निर्माण गरिएको छ । मर्यादा पुरुष श्रीरामको आदर्शलाई समाजमा स्थापना गर्न राम मन्दिर निर्माण गरिएको सो मन्दिर सञ्चालक समितिका अध्यक्ष लक्ष्मण रायमाझीले बताएका छन् ।

काठमाडौं महानगरपालिका–१४, कलँकी स्थित गीतपञ्चालयन मार्गमा निर्माण गरिएको यो मन्दिरको नयाँ वर्ष र रामनवमीको अबसर पारेर उद्घाटन गरिएको छ । करिब एक महिनाको प्राण प्रतिष्ठानपछि मन्दिर उद्घाटन गरिएको हो । उद्घाटनसँगै मन्दिरमा भक्तजनले दर्शन र पुजापाठ गर्न थालेका छन् ।

काठमाडौं जिल्ला क्षेत्र नं. ९ का प्रतिनिधि सभा सांसद कृष्ण गोपाल श्रेष्ठ, प्रदेश ३ काठमाडौंका प्रदेश सभा सदस्य अजयक्रान्ती शाक्य, काठमाडौं महानगरपालिकाका प्रमुख बिधासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले सो मन्दिरसँगै ‘पितृभक्त श्रीरामधाम भागवत् सेवाश्रम’को सँयुक्त उद्घाटन गरे ।

मन्दिर निर्माणमा जग्गा दान, सेवादान, आर्थिक सहयोग गर्ने देखि विभिन्न सामग्री सहयोग गर्नेहरुलाई कार्यक्रममा सम्मान गर्नुको साथै प्रमाणपत्र प्रदान गरियो । सो कार्यक्रममा बोल्दै सांसद कृष्णगोपाल श्रेष्ठले राम मन्दिरको स्थापनाले समाजमा सकरात्मक सन्देश जानुका साथै श्रीरामको आदर्श स्थापना हुने बताए । राम मन्दिर सञ्चालक समितिका अध्यक्ष लक्ष्मण रायमाझीले मन्दिर निर्माणको उदेश्य प्रकाश पार्दै सहयोगीहरुको बारेमा कार्यक्रममा जानकारी गराएका थिए ।