अलबिदा बरिष्ट पत्रकार पुष्करलाल !


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ बैशाख

बरिष्ट पत्रकार एवम् कामना न्यूज पब्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष, प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ अब हामीबीच रहेनन् । उनको ६० बर्षको उमेरमा बुधबार ११ बजेर ४९ मिनेट जाँदा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएकोे छ ।

श्रेष्ठ पछिल्लो चार महिनादेखि बिरामी थिए । चार महिना अघिदेखि उनको स्वास्थ्यमा समस्या आएको थियो । स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । पत्रकार श्रेष्ठलाई जीवीएस भाइरसले संक्रमण तुल्यापछि सोही भाइरसको कारण उनको निधन भयो ।

बरिष्ट पत्रकार पुष्कारलाल श्रेष्ठको बुधबार अपरान्ह पशुपति आर्यघाटमा अन्तिम संस्कार सम्पन्न भयो ।

दिवँगत श्रेष्ठले २०४१ मंसिर १५ गतेबाट कामना सिने मासिक पत्रिकाको शुरुवात गरी ब्यवसायिक पत्रकारिताको थालनी गरेका हुन् । त्यसपछि उनले पारिवारिक खुराक साधाना २०४८ र सन्ध्याकालिन महानगर २०४९मा, २०५२ साल पुस २७ गतेबाट राष्ट्रिय दैनिक आजको समाचारपत्रको प्रकाशन थाले । आजको समाचारपत्रलाई पछि नेपाल समाचारपत्र बनाए । दिवँगत श्रेष्ठ नेपाल समाचार पत्रका प्रकाशकसँगै प्रधान सम्पादक थिए ।

उनी कामना प्रकाशन समूह, नेपाल मिडिया सोसाइटी, इन्टरनेसनल प्रेस इन्सटिच्यूटका संस्थापक अध्यक्ष समेत थिए । उनी प्रबल गोर्खा दक्षिण बाहु (१९९९), त्रिशक्ति पट्ट,श्री ५ को राज्यारोहणको रजत जयन्ती समारोह पुरस्कार (१९९७), बिरेन्द्र ऐश्वर्य सेवा पदक (२००२),राष्ट्रिय व्यक्तित्व पुरस्कारबाट सम्मानित थिए ।

उनलाई नेपालको व्ववसायीक पत्रकारितामा असाधारण योगदान गरे बापत रिपोर्टस क्लबले २००२ मा सम्मानित गरेएको थियो । उनी प्रेस काउन्सील पुरस्कार, अभियान श्री (१९९८), नेपाल चलचित्र पुरस्कार (१९९९),डाबर फिल्म पत्रकारिता लाइफ एचिभमेन्ट पुरस्कार (२००३),साधना सम्मान (१९९९) सहित दर्जनौ पुरस्कार र सम्मानबाट सम्मानित थिए ।

यसैबीच चलचित्र पत्रकार संघ नेपालले शोक बिज्ञप्ती जारी गर्दै श्रेष्ठको निधनले नेपाली रंग पत्रकारिता क्षेत्रले एक अभिभावक गुमाएको जनाएको छ । उनले पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको योगदानको नेपाली पत्रकारिता जगतले सदा स्मरण गरिरहने बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तिमा लेखिएको छ,‘चलचित्र पत्रकार संघ नेपाल दिवँगत श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् भन्दै गहिरो समवेदना प्रकट गर्दछ ।’

दिवँगत अग्रज चलचित्र पत्रकार श्रेष्ठका अत्माले शान्ति पाओस, ब्युटी न्युज नेपाल परिवार उनी प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।