चलचित्र क्षेत्रमा बेथिति नै बेथिति


ब्युटी न्युज नेपाल
काठमाडौं, २ बैशाख

नेपाली चलचित्र क्षेत्रमा व्यापक बेथिति रहेको सिनेकर्मीहरुले स्विकारेका छन् । उनीहरुले चलचित्रमा मात्र हैन, चलचित्र पत्रकारितामा पनि बेथिति रहेको टिप्पणी गरेका छन् ।

नेपाल चलचित्र निर्माता संघको सहकार्यमा चलचित्र पत्रकार संघ नेपालले नयाँ बर्षको अवसरमा काठमाडौंमा आयोजना गरेको ‘चलचित्र क्षेत्रका बेथिति’ शिर्षकको अन्तक्र्रियामा सिनेकर्मीहरुले यस्तो टिप्पणी गरेका हुन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई स्वागत गरिएपछि सुरु भएको अन्तरक्रियामा करिब साँढ तीन घन्टा फिल्मको बेथितीबारे बहस भयो ।

विकास बोर्डका अध्यक्ष केशव भट्टराईले अन्तक्र्रिया कार्यक्रममा बोल्दै चलचित्र क्षेत्रमा समस्या नै समस्या रहेको बताए । चलचित्र निर्माण, वितरण र प्रदर्शन मा धेरै समस्या भएको उनले स्विकारे । त्यसको समाधानको लागि पहल गर्दा पनि अहिले नीति अभावका कारण संभव नरहेको उनको तर्क छ । उनले आफ्नो पहिलो काम चलचित्र नीति लाई सरकारबाट पारित गराउने रहेको जिकिर गरे,‘जब चलचित्र नीति बन्छ, त्यसपछि चलचित्र क्षेत्रमा देखिएका बेथितीहरुको वारेमा समाधान खोज्न सजिलो हुन्छ । हामी सबै मिलेर प्रक्रियागत रुपमा समाधान खोज्न सक्छौं’ अध्यक्ष भट्टराईले भने ।

आफुहरुले विभिन्न समयमा चलचित्र क्षेत्रमा देखिएका समस्याहरुको वारेमा छलफल गर्ने र समस्या निकाल्छौं तर समाधान गर्न नसक्ने उनले बताए । त्यसैले अब चलचित्र नीतिले मात्रै समाधान खोज्ने हुदाँ नीति पास गराउन सबै चलचित्रकर्मीहरु एकतावद्ध तरिकाले लाग्नुपर्ने उनको धारणा थियो । साथसाथै अध्यक्ष भट्टराईले आउँदो आर्थिक बर्ष भित्र देशैभर बक्स अफिसको परिक्षण गरिने बताए ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समस्याको समाधान तिर सम्बन्धित संस्थाले पहल नखोजेको र त्यसको मारमा निर्मातालाई मात्रै पारेको बताएका छन् । उनले कलाकारले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने पनि बताएका छन् । कलाकारले आफुलाई रिजर्भ गर्न नसक्नु, आफ्नो दिनचार्यदेखि सबै कुरा सामाजिक सञ्जालमा पोख्नु, अनावश्यक पारश्रमिकको माग गर्नु जस्ता समस्याहरु कलाकारमा रहेको उनले बताएका हुन् । वितरण र प्रदर्शनको समस्यामा निर्माता मारमा परेको उनले बताए । त्यसको जिम्मेवार निकाय वितरक र चलचित्र संघले यस विषयमा सोच्नुपर्ने बताए । यसमा सहकार्य र समन्वय गर्न विकास बोर्डलाई पनि अधिकारीले आग्रह गरे ।

आकाशले निर्माताको धेरै समस्याहरुको वारेमा चलचित्र संघसँग सम्झौता भएपनि त्यो कार्यान्वयन नभएको बताएका हुन् । सम्झौता कार्यन्वयन गर्न चलचित्र संघ हच्किएको देखिन्छ, वितरकसँगको सम्झौता पत्रमा पनि उल्लेख भए अनुसारको कार्यान्वयन हुदैन अध्यक्ष अधिकारीले भने ।

चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले चलचित्र क्षेत्रमा कोही पनि ईमान्दार नभएको आरोप लगाए । आफ्नो चलचित्र आउँदा सबै जायज र अरुको चलचित्र आउँदा सबै कमजोरी देख्ने समस्या रहेको बताए । उनले चलचित्रकर्मीमा सम्मान र सद्भाव नै नरहेको दावी गरे ।

यस्तै प्रदर्शन र वितरणमा देखिएको समस्यामा बोल्दै उदयले गलत समाचार दिने निर्माताहरु जिम्मेवार रहेको बताए । आफ्नो वास्तविक व्यापार लुकाएर मिडियामा प्रचारबाजी व्यापारको तथ्याङ्क दिने, गलत समाचार दिने परम्पराको अन्त्य हुनुपर्ने उनले बताए । उनले पारश्रमिक बढि माग्ने कलाकारले व्यापारको केही प्रतिशत जिम्मेवारी लिनुपर्ने दावी गरे । कलाकारहरुले पनि आफ्नो पारश्रमिक बढि दावी गर्नु गलत रहेको उनको भनाई छ ।

प्रदर्शन र वितरणमा देखिएका समस्यामा सबैमा मपाईत्व भएको कारण समाधान नभईरहेको उनले बताए । साझा समस्यालाई सबै चलचित्रकर्मीले आफ्नो समस्या सम्झेर समाधान गर्नुपर्ने उनो तर्क थियो । जबसम्म एकको समस्यामा अर्को चलचित्रकर्मीले साथ र सहयोग गर्न सक्दैन तबसम्म समस्याहरु निराकरण नहुने उनको दावी छ ।

यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले निर्माताहरुले नै गलत समाचार सम्पे्रषण गरिरहेको बताए । आफ्नो चलचित्र लाग्दै गर्दा गलत समाचार र गलत व्यापारको तथ्याङ्क दिने गरेको उनको भनाई छ । हामी पत्रकारको काम सहि सुचना दिने हो, तर सूचना आउने स्रोतबाट नै गलत आएपछि त्यसको जवाफदेहिता स्रोत अर्थात निर्माताहरुले नै लिनुपर्ने अध्यक्ष सापकोटाले बताएका हुन् । सबै पत्रकार सहि नभएको पनि उनले जिकिर गरे ।

यता आधा दर्जन बढि वितरकहरुलाई कार्यक्रमको सन्दर्भ दिएर पटक पटक उपस्थित हुन आग्रह गर्दा पनि वितरकहरु मिडियामाझ आउन डराएको चलचित्र पत्रकार संघका सचिव समीर बलामीले दावी गरेका छन् । निर्माताको समस्याको वारेमा वितरकमा देखिएका कारणहरुको समाचार बनाउँदा पत्रकारलाई धम्की दिने र सामाजिक सञ्जालमा मनको बह पोख्ने वितरकहरु कार्यक्रममा उपस्थित नहुनुने प्रदर्शन र वितरणमा ठुलो समस्या वितरककै कारण भएको उनको दावी थियो । वितरकहरु मनोज राठी, शुशिल पोखरेल, गोविन्द शाही, प्रचण्डमान श्रेष्ठ, निरक पौडेल, अशोक शर्मा लगायतलाई आमन्त्रण गरिएको चलचित्र पत्रकार संघले जनाएको छ ।

वितरकको रुपमा उपस्थित भएका गोपाल काजी कायस्थाले वितरकहरुमा प्रतिस्पर्धा रहेको बताए । अरुको अस्तित्व स्विकार गर्न नसक्नुले वितरकको राजनीतिमा नेपाली निर्माताहरु मारमा परेको उनले स्विकारे । उनले पछिल्लो समय मनोज राठी र विक्रम पराजुलीका कारण चलचित्र ए मेरो हजुर ३ र यात्रा एक साथ रिलिज भएको बताए । यस्तै समस्या चलचित्र क्षेत्रमा धेरै छ । वितरकहरु आफ्नो मात्रै अस्तित्व रहेको भान गर्छन् । अरुको मतलब राख्दैनन् त्यस कारण निर्माताहरु मारमा परेको हो वितरक गोपाल काजी कायस्थाले भने ।

कार्यक्रममा कलाकार तथा निर्देशक दिपा श्री निरौलाले समग्र चलचित्र क्षेत्र सबैको साझा भएकोले सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताए । एउटाले अर्को लाई असर पार्ने भएकोले १÷२ मात्र चलचित्र नभएर सबै चलचित्र चल्नुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा निर्देशकहरु प्रदिप भट्टराई, दिवाकर भट्टराई, दिपेन्द्र के खनाल, दिनेश श्रेष्ठ, निर्माताहरु उदय सुब्बा, माधव वाग्ले, रोज राणा, अर्जुन कुमार, कलाकार निर्मल शर्मा, चलचित्र पत्रकार संघका पदाधिकारीहरु सहित संचारकर्मी र चलचित्रकर्मीहरुको उल्लेख्य उपस्थिति थियो ।