ए मेरो हजुर ३ को उत्साह जनक व्यापार


ब्युटी न्युज नेपाल
काठमाडौं, १ बैशाख

नयाँ वर्ष २०७६ को शुभकामना स्वरुप शुक्रबारबाट रिलिज भएको चलचित्र ए मेरो हजुर ३ को व्यापार उत्साह जनक छ । यो फिल्मलाई हल सञ्चालकले सुरुमा केही साना हल दिए पनि हलमा दर्शकका भिड बढेपछि शनिबारबाट काठमाडौंको गोपी बाहेक सबै जसो सिनेमा हलमा ए मेरो हजुर ३ ले क श्रेणीको हल पाएको बितरक गोविन्द शाहीले बताएका छन् ।

‘सिनेमाको व्यापार कमजोर बनाउन केही व्यक्तिहरु लागेका कारण हललाई प्रभावित गर्न खोजिएको थियो । तर शुक्रबार देखि नै ए मेरो हजुर ३ मा दर्शकको ओभर फ्लो भएपछि सबै हलले ठुला हल दिएका छन् ।’ ए मेरो हजुर ३ का वितरक शाहीले ब्युटी न्युज नेपालसँग भने,‘देश भरी नै ए मेरो हजुर ३ को व्यापार उत्साह जनक छ । काठमाडौंको गोपिकृष्ण मूभिजमा शुक्रबार देखि नै हरेक शोमा ४/५ ओटा हल हाउसफुल भएको छ भने क्युएफएक्समा हिजो जस्तै आज बिहानै देखि शोहरु हाउसफुल छन् । क्युएफएक्समा शनिबारबाट शो बढेर १७ शो पुगेको पनि उनले जानकारी गराए ।

युवा अभिनेता अनमोल केसी र नवोदित अभिनेत्री सुहाना थापा अभिनित चलचित्र ए मेरो हजुर ३ साँगीतिक प्रेम कथामा आधारित चलचित्र हो । यसलाई झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा यी दुईको जोडीलाई रुचाईएको छ । आफ्नो पहिलो फिल्मबाटै सुहाना थापाले नेपाली चलचित्रबृत्तमा सँभावना देखाएकी छिन् ।