सानो मनको गीतमा आयुष्मान र शिल्पाको ठुम्का


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ चैत

नेपाली चलचित्र ‘सानो मन’को यतीबेला छायाँकन भईरहेको छ । फिल्मको एक गीतको भिडियोलाई बलीउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् । सुयोग सोताङ्ग, सुयोग गुरुङ्ग र सिमा राईको स्वरमा रहेको रानु कम्मर…पार्टी गीतमा चलचित्रका मूख्य कलाकारद्वय आयुष्मान देशराज जोशी र शिल्पा मास्केले नृत्य गरेका छन् ।

‘रानु कम्मर…को भिडियो आर्थीक हिसाबले जति महंगो हुन पुगेको छ त्यो भन्दा बढि क्वालिटीमा समेत देख्न पाईने छ’ चलचित्रका निर्देशक सुयोग गुरुङ्गले बताए । यो गीतको छायांकन राजधानीको एक रिसोर्टमा भएको हो । उनका अनुसार म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने सानो मन छायांकनको अन्तिम चरणमा रहेको छ ।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने चलचित्रका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा चलचित्र बनिरहेको छ । आलोक शुक्लले छायांकन गरिरहेका छन् । साजन बलीउड सुपरस्टार सलमान खानका नीजि नृत्य प्रशिक्षकसमेत हुन् ।

बलीउडका कोरियोग्राफर रेमो डिसुजासँग आठ बर्षसम्म काम गरेका साजनले अहिले भने आफैले कोरियोग्राफी गर्दै आएका छन् । साजनले बलीउडका चर्चित चलचित्रहरु ’एबिसिडी’ र ’एबिसिडी २’मा अभिनय तथा सहायक नृत्य निर्देशन गरेका थिए ।

उनले डान्स इण्डिया डान्सको दुई सिजनमा सहभागिता जनाएका थिए । साजनका सहयोगी आशिष बशिष्ठ पनि छायांकनको बेला नेपाल आएका थिए । आशिष ’डान्स इण्डिया डान्स सिजन ५’मा उत्कृष्ट चारसम्म पुग्न सफल भएका थिए ।