ब्युटी न्युज नेपाल
काठमाडौं, २१ चैत

आगामी नयाँ वर्षको अबसर पारेर यही २२ चैत शुक्रबारदेखि देशव्यापी सिनेमा हलमा ‘लभ स्टेशन’का तर्फबाट गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलसँगको छलफल पछि लभ स्टेशनको नेपालमा प्रदर्शन भएको मुनाफाके ५ प्रतिसत रकम सो क्रिकेट मैदान निर्माणका लागि फाउन्डेसनलाई प्रदान गरिने घोषणा पनि बिहिबार काठमाडौंमा एक समारोहबीच निर्माण पक्षले गरेको छ ।

लिली बिलीबाट चर्चा बटुलेका जोडी प्रदीप खड्का र जसिता गुरुङसँगै चलचित्र लभ स्टेशनमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

यस बारे यो चलचित्रका प्रस्तुतकर्ता गोबिन्द शाहीले भने,‘हाम्रो चलचित्रका तर्फबाट गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि अहिले ५० हजार रुपैयाँ सहित फिल्म प्रदर्शन भएपछि नेपालबाट उठेको मुनाफाको ५ प्रतिसत रकम दिने भएका छौं । साथै चलचित्र पत्रकार संघका तर्फबाट ७ जेठमा प्रदान गरिने चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार बिजेतालाई अभिनेता प्रदीप खड्का र मेरो तर्फबाट एउटा ल्यापटप प्रदान गरिने घोषणा गर्दछौं ।’

गत साता अभिनेता प्रदीप खड्काले काठमाडौंको गोकर्ण स्थित सँयुक्त एकता अपाँग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई भर्ना सहित ३ महिनाको बिधालय शुल्क, बारा जिल्लाका हुरी बतास पीडितलाई सोमबार ५० हजार रुपैयाँ प्रदान गरिसकेका छन् । दुबै हात गुमाएकी मेघा घिमिरेलाई प्रदीप खड्का र लभ स्टेशनका तर्फबाट एक लाख रुपैयाँ प्रदान गरिसकेको यो टिमले क्रिकेट मैदान निर्माणका लागि यो सहयोग प्रदानसँगै थप सहयोगको घोषणा बिहिबार गरेका हुन् ।

अभिनेता प्रदीप खड्काले आफुसँग प्रसस्त पैसा नभए पनि कलाकारको पनि सामाजिक उत्तर दायित्व हुन्छ भन्दै यो सहयोग प्रदान गरिएको बताएका छन्,‘नेपाली चलचित्र नचलेको र चल्ने वातावरण विभिन्न पक्षबाट बिगार्ने काम भईरहेको बेला चलचित्र क्षेत्रको समाजप्रतिको दायित्व निर्वाह गर्ने हामीले यस्तो सहयोग गर्र्दै आएका हौं ।’ अभिनेता खड्काले बताए ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।