२१ चैतबाट काठमाडौंमा मानव अधिकार फिल्म महोत्सब


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ चैत

२१ चैतबाट ४ दिनसम्म काठमाडौंमा नेपाल मानव अधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले सातौं संस्करणको नेपाल मानव अधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

मानव अधिकार चलचित्र केन्द्रले २१ चैतदेखि २४ चैतसम्म रसियन कल्चर सेन्टर काठमाडौंमा महोत्सव आयोजना गर्न लागेको हो । नेपालबाट दुई दर्जन भन्दा बढी चलचित्र महोत्सवमा प्रदर्शनका लागि छनोट गरिएको छ । विश्वभरिबाट खुला आवेदन मार्फत आएका चलचित्रहरु छनौट गरि ८१ भन्दा बढी मानव अधिकारका विषयमा निर्माण भएका वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनलागयतका चलचित्र प्रदर्शन गरिने छन् ।

महोत्सवको उदघाटन चैत २१ गते लाइभ सांगीतिक कार्यक्रमबाट सुरु हुने छ । उदघाटन समारोहको अध्यक्षता राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष अनुपराज शर्माले गर्नेछन् । महोत्सवको शुरुवात जर्मनी ‘द मार्च अफ होप स्काई’ बाट गरिनेछ । यो फिल्मको निर्देशन जीम क्र्याप्ट एण्ड बेस्टियन फिस्चेरले गरेका हुन् ।

महोत्सवमा पछिल्लो समय विश्वमा आन्तरिक राजनैतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दङ्गा र आतङ्कवादी क्रियाकलापका कारण विस्थापित भएकाहरुको कथामा आधारित फिल्महरुलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै सामाजिक रुपमा अधिकारबाट वञ्चित र सामाजिक न्यायको पक्षमा महिला, दलित, अल्पसंख्यक र पिछडिएका समुदायका सवालमा बनेको चलचित्र पनि प्रदर्शन गरिनेछ । चलचित्र प्रर्दशनसँगै महोत्सवमा अन्तरक्रिया पनि गरिने छ ।

महोत्सवमा राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुका साथै मानवअधिकारको क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको उपस्थिति रहने छ । साथै छलफल र अन्तरक्रिया कार्यक्रम समेत राखिएको छ । यसबाट नेपालको मानवअधिकार, कला, संस्कृतिको साथै नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा सहयोग पुर्याउने विश्वास लिइएको छ । चलचित्रकर्मीहरुलाई क्षमता प्रदर्शनको लागि एउटा मञ्च स्थापना गर्नुका साथै मानव अधिकारका विषयमा बनेका उत्कृष्ट चलचित्रहरुलाई विभिन्न विधामा पुरस्कृत पनि गरिने छ ।