द भ्वाइस अफ नेपाल सिजन–२ को डिजिटल अडिसनमा २२ हजार सहभागी


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ चैत

पहिलो सिजनबाट चर्चा कमाएको द भ्वाइस अफ नेपालको सिजन–२ मा पनि त्यत्तिकै आकर्षण बढेको छ । गत माघबाट सुरु गरिएको सिजन–२ को लागि डमी भ्वाईस आह्वानमा अन्तिम दिन गत शनिबार सम्म करिब २२ हजारले आफ्नो डमी भ्वाईस सहित डिजिटल अडिसन दिएका छन् ।

करिब २२ हजार नेपाली प्रतिभाहरुले डिजिटल अडिसनमार्फत् सहभागिता जनाएको आयोजक पक्षले जनाएको छ । १० चैतसम्म तोकिएको समयसीमाभित्र कुल २१ हजार ७ सय प्रतिभाहरुले बिभिन्न डिजिजल माध्यममार्फत् आबेदन दिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले बताएका छन् ।

‘यसपटक हामीले मोबाइल एपसँगै सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत् पनि आबेदन खुला गरेका थियौं’ पौडेलले भने,‘सवै माध्यम खुला गरिएका कारण यो बर्ष उत्साहजनक सहभागीता देखिएको छ ।’

१० चैतमै म्याद सकिएपनि अझै दैनिक सयौंको संख्यामा आबेदन आइरहेको पनि निर्देशक पौडेलले बताए, ‘एप्स डाउनलोड गरेर सहभागीता जनाउन कठिनाई महसुस गर्ने प्रतिभाहरुले फेसबुक म्यासेन्जर, भाइबर, ह्वाटस एप्समार्फत् पनि हजारौंको संख्यामा आबेदन दिएका छन् । ’

प्राप्त भिडियो क्लिपहरुमाथि उत्पादन तथा संगीत टीमले परीक्षण गरेर उत्कृष्ट प्रतिभाहरुको छनौट गरी कोचसामु ब्लाइन्ड अडिसनमा सहभागी गराउने छ । कोचहरुको कुर्सी घुमेसँगै प्रतिभाहरुको भाग्य पनि बदलिनेछ । यही असारबाट प्रसारण सुरु हुने दोस्रो सिजनलाई हिमालय टेलिभिजन एचडीले प्रसारण गर्ने छ ।