ब्युटी न्युज नेपाल
काठमाडौं, १३ चैत

किताबलाई लिएर लेखक पुष्पलता आचार्यले यात्रा गरेकी थिईन् । त्यो यात्राको स्मरण समेट्दै उनले फेरी पुस्तक लेखिन र नाम राखिन ‘किताब यात्रा’ । यो पुस्तकको काठमाडौंका थापागाउँ स्थित कुञ्ज थिएटरमा बुधबार एक समारोह बीच विमोचन गरिएको छ ।

कार्यक्रमका वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीसहितका अतिथिले पुस्तक बिमोचन गरे । जोशीले नेपालमा यस प्रकारको पुस्तक नयाँ भएको बताए ।

कार्यक्रममा भरत जंगमले किताब लेखन आफँमा यात्रा जस्तै चुनौती भएपनि लेखक पुष्पलताले यात्रा र लेखन दुवै चुनौति एक्लै लिएर आफू साहसी भएको उदाहरण दिएको बताए ।

अर्का अतिथि बेन्जु शर्माले किताब यात्रा मार्फत पुष्पलताले नेपाली समाज, नेपाली लेखक नेपाली पाठक देखाएकोमा खुशी व्यक्त गरिन् । समिक्षक रमेश सुभेच्छुकले किताब रिदमिक भएको बताउँदै केही प्राविधिक त्रुटि देखिए पनि किताब समष्टिमा राम्रो छ भने ।

लेखिका पुष्पलता आचार्यले आफुले साठी वटा पुस्तक लेखिसके पनि यो पुस्तक बिमोचन गर्नुको अर्थ नेपाली जनजनमा नेपाली महिला कमजोर हुन नहुने भन्ने बारे जानकारी दिनका लागि हो भनिन् ।

नेपाली समाजमा नयाँखालको पुस्तक ल्याउनु आफ्नो उद्देश्य भएको बताउँदै किताब यात्रा पुस्तक प्रकाशन गरेको सिमल बुक प्रकाशनका प्रकाशक कमलले बताए ।