पाँच दर्जन हलबाट प्रेमलीला रिलिज


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, ८ चैत

अभिनेत्री दीपशिखा खड्काको चलचित्र ‘प्रेमलीला’ शुक्रबारबाट मुलुकका करिब पाँच दर्जन सिनेमा हलमा रिलिज भएको छ ।

प्रेमलीलाका निर्देशकले छायांकनकै क्रममा काम छाडेपछि आफूले यो फिल्मको बाँकी काम सम्पन्न गरेको यसकी अभिनेत्री एवं निर्माता खड्काले बताएकी छन् । फिल्मका निर्देशकले आर्थिक हिनामिनता गरेको उनले केही समय अघि आरोप लगाएकी थिईन् ।

दीपशिखाका अनुसार यो चलचित्रले शुक्रबार बिहानीको पहिलो शोमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

नेपाली चेली र भारतीय युवाबीच यात्राको क्रममा भेट भएपछि सुरु भएको प्रेम सम्बन्ध र त्यसले निम्त्याएको आरोह अबरोहको कथा यो चलचित्रमा रहेको खड्काले बताएकी छिन् ।

कथाको माग अनुसार चलचित्रकालागि आफूले कपाल खौरेर भूमिका निर्वाह गरेको पनि यि अभिनेत्रीले जानकारी गराएकी छिन् ।

पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको प्रेमलीलामा महेश खड्का, नवीन कार्की र रविराज शाहको संगीत छ ।

यो चलचित्रमा दीपशिखा खड्कासँगै अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरू अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको अभिनय रहेको छ ।

अभिनेत्री खड्काकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्मसले संयुक्त रूपमा निर्माण गरेका हुन् । बलिउडको चलचित्र केशरीले नेपालमा राम्रो व्यापार गर्न नसकेको बेला आफ्नो सिनेमाले राम्रो हल पाएको यी अभिनेत्रीले बताएकी छिन् ।