अष्ट्रेलिया जानेको कथा लिएर आयो कागजपत्र


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, ८ चैत

चलचित्र कागजपत्र शुक्रबारबाट मुलुकका पाँच दर्जन भन्दा बढी सिनेमा हलमा रिलिज भएको छ । यो चलचित्रलाई अपिल विष्टले निर्देशन गरेका हुन् । फिल्मका लेखक पनि उनी नै हुन् ।

हास्यव्यंग्य जनराको सामाजिक बिषयबस्तुमा आधारित चलचित्र ‘कागजपत्र’को बिहिबार बेलुका काठमाडौंमा प्रिमियर शो गरियो । फिल्म हेर्नेले मन पराए । यसले राम्रो प्रतिक्रिया पाएको छ । तर एकथरीले फिल्मको सम्बन्ध अलिक बढी दुईअर्थी भएको प्रतिक्रिया पनि दिए ।

निर्देशक विष्टका अनुसार डिपेन्डेन्ट भिसामा अस्ट्रेलियालगायतका मुलुक जानेहरूले गर्ने किर्ते कागजपत्रले निम्त्याएको समस्यामा यो चलचित्र केन्द्रित रहेको छ । फिल्मले २ घण्टा दर्शकलाई पूर्ण मनोरञ्जनसँगै सन्देश पनि दिने निर्देशक बिष्टले जिकिर गरे ।

यो चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी बर्देबासहितको मुख्य भूमिका छ । जसमा नाजिरले जग्गा दलालको भूमिका निर्वाह गरेका छन् । अष्ट्रेलिया जान सँघर्ष गरेकी युवतीको भूमिकामा शिल्पा छिन् ।

यो चलचित्रमा वसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासिमिर डिक्सनको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सहनिर्माताको रूपमा रहेको पनि विष्टले बताए ।