निर्माता भट्टराई चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ चैत

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्माता एवं कलाकार केशव भट्टराईलाई नियुक्त गरेको छ । कलाकार भट्टराईलाई दुई वर्षका लागि बोर्डको अध्यक्षपदमा नियुक्त भएका हुन् । निकिता पौडेलले राजीनामा दिएपछि चलचित्र विकास बोर्ड एक महिना यताबाट रिक्त थियो ।

बोर्ड अध्यक्ष नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले शुक्रबारदेखि बोर्डमा हाजिर गरेर काम थाल्ने बताएका छन्, । भट्टराईले फिल्म क्षेत्रमा देखिएको बेथितिलाई प्राथमिकता दिने पनि बताएका छन् । अध्यक्षका लागि आफूले सञ्चार मन्त्रालयमा यसअघि पेस गरेको भावी कार्ययोजनालाई अघि बढाउने पनि उनले बताएका छन् ।

बिगत तीन दशकदेखि चलचित्र क्षेत्रमा कलाकार र निर्माताका रुपमा क्रियाशिल भट्टराई विधुत्त प्राधिकरणका अबकास प्राप्त कर्मचारी पनि हुन् । लामो समयसम्म प्राधिकरणमा रहेर सेवा गरेको अनुभव उनीसँग छ । उनी नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंस्था जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्षसमेत रहेका भट्टराईलाई बोर्डमा पठाउने निर्णय संघले केही समय अघि गरेपछि उनको ठाउँमा चलचित्र निर्देशक एवं कलाकार दिनेश डिसीलाई संघका अध्यक्ष बनाइएको छ ।

दुई साता अघि पत्रिकामा सुचना निकालेर सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डका लागि योग्यता पुगेका व्यक्तिहरूबाट दर्खास्त आह्वान गरेको थियो । कलाकार भट्टराईसहित पाँच जनाले बोर्ड अध्यक्षका लागि आफ्नो कार्ययोजनासहित दर्खास्त हालेका थिए । ती पाँचमध्येबाट भट्टराई बोर्ड अध्यक्षमा बिहिबार नियुक्त भएका हुन् ।