अनेकोटमा श्रष्टा सम्मान गर्दै मनाईयो सांस्कृतिक शहीद दिवस


ब्युटी न्युज नेपाल
काभ्रे, ५ चैत

काभ्रेपलान्चोकको अनेकोटमा ‘२१औं सांस्कृतिक शहीद दिवस’ मनाईएको छ ।

सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा २१ वर्ष अघि सरकारपक्षद्धारा हत्या गरिएका तत्कालीन माओवादीका सात जना गायक गायिका एवं संगीतकर्मीको सहिद स्तम्भ अनाबरण, श्रष्टा सम्मान र नाचगान सहित मँगलबार अनेकोटमा सांस्कृतिक सहिद दिवस मनाईयो ।जनसांस्कृतिक महासंघ नेपालले ती सात संगीतकर्मीको स्मृतिमा हरेक वर्ष ५ चैतमा ‘सांस्कृतिक शहीद दिवस’ मनाउँदै आएको छ ।

अनेकोटमा सहादत प्राप्त गर्ने शहीद कलाकारहरू च्याङ्बा लामा, निर्मला देवकोटा, मञ्जु कुँवर, गुम्बासिं तामाङ, डम्बर श्रेष्ठ, शुभद्रा देवकोटा र चिनिमाया लामा थिए । यिनै कलाकारहरुकोको मुहारचित्रसहितको ‘शहीद स्तम्भ’लाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले सो कार्यक्रममा अनावरण गरे ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालसहित नेकपाका विभिन्न नेताले जनसांस्कृतिक महासंघका तर्फबाट विभिन्न विधाका सात स्रष्टालाई सम्मान गरे । आजीवन चेतनामूलक गीतसंगीत प्रस्तुत गरेको भन्दै जेबी टुहुरेलाई १५ हजार रुपैयाँसहित जनसांस्कृतिक दीर्घ सेवा सम्मानबाट सम्मानित गरियो ।

दिवँगत जनगायक खुसीराम पाख्रिनलाई मरणोपरान्त सम्मान उनका परिवारलाई १५ हजार रुपैयाँ र ताम्रपत्रसहित जनसंस्कृति संगीत मरणोपरान्त सम्मान प्रदान गरियो ।

सो कार्यक्रममा जनसांस्कृति सम्मान साहित्यतर्फ कुन्ता शर्मालाई, नाटकतर्फ कृष्णभक्त महर्जनलाई, चलचित्रतर्फ प्रेम सुब्बालाई, ललितकलातर्फ नरेन्द्र भण्डारीलाई, गायनतर्फ कर्णबहादुर परियार ‘विद्रोही’लाई, र नृत्यतर्फ शान्ति कठायत ‘प्रतीक्षा’लाई जनही १५ हजार रुपैयाँसहित ताम्रपत्रबाट सम्मानित गरियो । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपाका प्रवक्त नारायणकाजी श्रेष्ठ तथा नेकपाका नेताहरु प्रभाकर शर्मा, आनन्द पोखरेल, मणी थापालगायतले सो सम्मान प्रदान गरेका हुन् ।

आआफ्नो क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएकाले यी स्रष्टाहरूलाई सम्मानित गरिएको जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्रीले बताए । अर्का अध्यक्ष खगेन्द्र राईले ती सम्मानित स्रष्टाहरूको योगदानबारे जानकारी गराए ।

पूर्व प्रधानमन्त्री खनालले कार्यक्रमलाई सम्बोधन गर्दै यी सांस्कृतिकर्मीहरूको बलिदानबाट निर्माण भएको गणतन्त्रलाई अझ स्थापित गर्दै मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ भने ।

नेकपाका प्रवक्त नारायणकाजी श्रेष्ठले मुलुकमा अझै सांस्कृतिक आन्दोलनका आवश्यकता भएको औंल्याए । अनेकोटका सात शहीदसहित मुलुकभर हजारौं शहीदले युद्धकालमा प्राप्त गरेको सहादतका कारण विश्वकै नयाँ ढंगको लोकतन्त्र मुलुकमा स्थापित भएकाले उनीहरूको सपना साकार गर्नुपर्ने उनले बताए ।

सो कार्यक्रममा जनसांस्कृतिक कलाकारहरूले विभिन्न नृत्य एवम् जनवादी गीत प्रस्तुत गरे ।