साईलीको ट्रेलरमा बैदेशिक रोजगारीमा जानुको पीडा


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ फागुन

आगामी १५ फागुनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र साईंलीको आईतबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । गायक हेमन्त रानाको दुई वर्ष अघि चर्चामा आएको गीत सुन साईली…मा आधारित रहेको चलचित्र ‘साईंली’ निर्माण गरिएको हो ।

यो चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर बहादुर गुरुङ, अरुण कार्कीलगायतका कलाकारको अभिनय छ । फिल्मलाई गायक हेमन्त र अभिनेता गौरवसँगै विशाल गुरुङ र मोहन राना मगरले सँयुक्त निर्माण गरेका हुन् । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

आईतबार रिलिज गरिएको यो फिल्मको ट्रेलरमा सांइलीको भूमिका मेनुका प्रधान र उनको श्रीमानको भूमिका गौरव पहारी छन् । फिल्ममा गरिबीको पीडालाई प्रस्ुतत गरिएको ट्रेलरले प्रस्ट्याएको छ ।

अभिनेता दयाहाङ राई र नवअभिनेत्री केनिपा सिंह पनि प्रेमी प्रेमिकाको रुपमा फिल्ममा प्रस्तुत भएका छन् । तर ट्रेलर हेर्दा गौरवको साथीको रुपमा दयाहाङ प्रस्तुत भएका छन् ।

ट्रेलरको कथा अनुसार मेनुकालाई विवाह गरेपछि र त्यसभन्दा अघि लागेको ऋणका कारण यी दम्पत्ति बिदेशिनु पर्ने कारण देखाईए पनि को बिदेश जाने हो भन्ने ट्रेलरमा खुलाईएको छैन । सुन सार्इंली…गीतलाई ट्रेलरमा नराखिएको भए पनि फिल्ममा यो गीत भिन्न दृष्यमा हेर्न पाईने यसका गायक एवम् यो चलचित्रका निर्माता हेमन्त रानाले बताएका छन् ।

फिल्ममा आफुले बैदेशिक रोजगारीकै कथा प्रस्तुत गर्न लागिएको यसका निर्देशक गुरुङले बताए । ट्रेलरमा बैदेशिक रोजगारीको बाँकी कथा फिल्ममा हेरेपछि मात्र थाहा हुने पनि उनले प्रस्ट्याए । यस अघि आफुले निर्माण गरेको कबड्डी र पुरानो डुँगाकै जनरालाई यो फिल्ममा पनि आफुले अँगालेको उनले खुलाए ।