दोश्रो नेपाल इन्टरनेशनल फिल्म फेस्टिबलमा डाईङ क्यान्डिल उत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ फागुन

दोश्रो नेपाल इन्टरनेशनल फिल्म फेस्टिबल २०१९ मा सिँगापुरको फिल्म ‘ए ल्यान्ड इमाजिनेड’ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड जितेका छ । यीओ स्यु हुव निर्देशित यो चलचित्रले फिचर फिल्मबाट उत्कृष्ट हुँदै एक हजार डलर सहित गौतम बुद्ध अवार्ड जितेको छ ।

काठमाडौंको भृकुटी मण्डप स्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजित यो महोत्सबमा अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत शर्ट फिल्म तर्फ भारत र बँगलादेशको सँयुक्त सर्ट फिल्म ‘मिन आलाप’ले उत्कृष्ट लघु चलचित्रको अवार्ड जित्यो । यो फिल्मले पाँचसय अमेरिकी डलर सहित माउण्ट एभरेस्ट अवार्ड अवार्ड प्राप्त ग¥यो । यो फिल्मलाई सुवर्ण सन्जुती तुसीले निर्देशन गरेका थिए ।

नेपाली पानोरामा अन्तर्गत नै सेनाङ ग्याम्जो तामाङले निर्देशन गरेको भिक्षु सम्बन्धी निकै रोचक लघु फिल्म ‘सुपरमँक’ले उत्कृष्ट नेपाली शर्ट फिल्मको अवार्ड सहित २५ हजार रुपैयाँ पायो । यस्तै नेपाली पानोरामा अन्तर्गत नै नरेश कुमार केसी निर्देशित तथा रविन आचार्य निर्मित एवम् आचार्यले छायाँकन गरेको चलचित्र ‘डाईङ क्यान्डिल’ले उत्कृष्ट चलचित्रको अवार्ड जित्दै ५० हजार रुपैंया पायो ।

यस्तै उत्कृष्ट फिल्म निर्देशकको अवार्ड पनि ‘डाईङ क्यान्डिल’बाटै नरेश कुमार केसीले नै पाए । यस्तै उत्कृष्ट पटकथाको अवार्ड चलचित्र ‘पञ्चायत’बाट सो चलचित्रका निर्देशक एवम् लेखक शिबम अधिकारीले पाए । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले कार्यक्रममा उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरे ।

चलचित्र निर्देशक एवम कलाकार नीर शाहको संयोजकत्वमा भारतका चलचित्रकर्मी प्रेमेन्द्र मजुमदार, चीनको बेजिङ्ग फिल्म एकेडेमीका प्रोफेसर ल्याङ्ग स्याओ र क्यान्स फिल्म फेस्टिभलका प्रोग्राम निर्देशक एन्ने डेलेच लगायत निर्णायक थिए ।

यस्तै फेस्टिलमा नयाँ चलचित्र लेखक निर्देशकलाई लक्षित गरेर उत्कष्ट कथा बाचन प्रतियोगिता पनि आयोजना गरिएको थियो । ‘स्टोरी पिच’ शिर्षकमा गरिएको यो प्रतियोगितामा काशीनाथ कथाबाट दिवस अम्गाईंले र अर्को कथाबाट सजन लोप्चनले जिते । यी दुबैलाई कार्यक्रममा जनही ४० हजार रुपैयाँ प्रदान गरियो ।

दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब सोचेको भन्दा निकै सफल भएको महोत्सब आयोजक समितिका अध्यक्ष एवम् चलचित्रकर्मी केपी पाठकले बताए । महोत्सब आयोजक संस्थाका महासचिब राजु केसीले कार्यक्रममा महोत्सबको उदेश्यबारे प्रकाश पारेका थिए । विभिन्न ३१ राष्ट्रहरुका ६० वटा चलचित्रहरु प्रदर्शनसँगै सोमबारसाँझबाट यो महोत्सब सम्पन्न भएको छ ।