सुरु भयो निफ, एकै थलोमा ३१ देशका ६० फिल्म


ब्युटी न्युज नेपाल
काठमाडौं ९ फागुन

विश्वका ३१ मुलुकका पाँच दर्जन कथानक चलचित्र रोजेर हेर्न चाहने दर्शकका लागि बिहीबारबाट काठमाडौंको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ सुरु भएको छ । जहाँ पाँच दिनसम्म बिहान ११ बजेबाट बेलुका ६ बजेसम्म थरी थरीका कथानक चलचित्र हेर्न पाईने छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्र्रचण्ड’ले यो महोत्सवको बिहीबार दिउँसो उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा नेपाली चलचित्र हरि प्र्रदर्शन गरियो ।

महोत्सब १३ फागुन सोमबारसम्म जारी रहने छ । ओष्कार अवार्ड मनोनयनमा एक समय उत्कृष्ट पाँच भित्र पर्न सफल नेपाली फिल्म क्याराभानका निर्देशक एरिक भ्याली बिशेष अतिथि रहेको उद्घाटन समारोहमा अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ, अग्रज कलाकारहरु नीर शाह, सुनिल थापा, चलचित्र विकाश बोर्डका सदस्य दयाराम दाहाल, नेपाल कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य तथा अग्रज संगीतकार मणी थापालगायत अतिथि थिए ।

कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालले चलचित्र संस्कृति आदानप्रदानका लागि यो महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । आफ्नो पहिलो कार्यकालमा नेपाली चलचित्रको विकासका लागि नीतिनिर्माणसहित विभिन्न कार्य गरेको पनि अध्यक्ष दाहालले स्मरण गरे ।

नेपाललाई सिनेमाबाट विश्वमा चिनाएको अध्यक्ष दाहालले कार्यक्रममा एरिक भ्यालीलाई धन्यबाद दिए । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष दाहालले चलचित्र क्याराभान जस्तै ओस्करका लागि सफल नेपाली फिल्म अझै बनाउन क्याराभानको निर्देशक भ्यालीसहित नेपाली सिनेकर्मीलाई सल्लाह दिए ।

आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चर एकेडेमी तथा महोत्सवका अध्यक्ष केपी पाठकले महोत्सवको उद्देश्य प्र्रकाश पारे ।

सो महोत्सवका निर्णायक प्रमुख एवं चलचित्र निर्माता निर्देशक कलाकार नीर शाहले प्रधानमन्त्री हुँदा पुष्पकमल दाहालले नेपाली सिनेमाको विकासका लागि उपयुक्त नीतिनिर्माणसहित सराहनीय कार्य गरेको बताए । पोखराबाट सुरु भएको यो महोत्सव दोश्रो वर्षमै अझ ससक्त भएको उनले बताए ।

अभिनेता सुनिल थापाले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवको अनुभव सुनाउँदै यो महोत्सव अरू अन्तर्राष्ट्रिय महोत्सवभन्दा कम नभएको जिकिर गरे । क्याराभानका निर्देशक एरिक भ्याली, अग्रज हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायतले महोत्सवको सफलताको कामना गरे ।