एकल साँझमा दर्शकलाई लठ्ठ्याए नरेन्द्र प्यासीले


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ फागुन

‘के भुल भयो प्रिया मसँग बोल्दिनौ
उज्यालो जुन उघार्दै पर्दा रातको खोल्दिनौ…’

यो कालजायी गीतका श्रष्टा नरेन्द्र प्यासी बिहिबार काठमाडौंमा एकल साँझ लिएर दर्शकमाझ आए । उनले यही गीतबाट एकल साँझ ‘नरेन्द्र प्यासी एकल साँगीतिक साँझ–२०७५’ सुरु गरेका थिए । एकल साँझमा प्यासीले आफ्ना १४ ओटा गीत प्रस्तुत गरे ।

कार्यक्रममा उनले एकपछि अर्को गर्दै आफ्ना हिट गीतहरु सुनाए । करिब दुई घन्टाको बसाईमा दर्शकले यी गायकका लोकप्रिय गीतमा रम्दै निरन्तर तालीले साथ दिए ।

के भुल भयो प्रिया…गीतबाट कार्यक्रम सुरु गरेका गायक प्यासीले दोश्रो गीत गाउनु अघि नै दर्शक दीर्घाबाट वान्स मोरको आवाज आयो । अरु पनि आफ्ना लोकप्रिय गीतहरु छन भन्दै उनले दोश्रो गीत तिमीले दिने मायाँ…गाए । यो गीतमा उनलाई महिला स्वरमा शिला बिष्टले साथ दिईन् ।

एकपछि अर्को गर्दै गायक प्यासीले तिमी विनाको जीवन…, तिम्रो दिलमा चोट लाग्दा…, म त तिम्रो मान्छे बन्न सकिन… जस्ता चर्चित गीतहरु सुनाए ।

आफ्नो एकल साँझलाई निरन्तरता दिने क्रममा गायक प्यासीले एउटा परदेशी आयो…, मनलाई…, माया ओ माया…, जाम क्यारे उडेर…, मेहफिलमा आज…, नजर पापी…, चन्द्रमाले…, फुलको दीलमा पनि…, काठमाडौं छुट्यो हेर्दा हेर्दै…जस्ता चर्चित गीतहरु गाए ।

आफ्ना प्रथम संगीत गुरु अम्बर गुरुङ सहित अग्रज कलाकारप्रति साँझलाई समर्पण गर्दै गायक प्यासीले एकलसाँझ सुरु गरेका थिए ।

‘नरेन्द्र प्यासी एकल साँगीतिक साँझ–२०७५’मा गायक प्यासीलाई प्रत्यक्ष बादबादनमा दिनेशराज रेग्मी, दीपक थापा, सुरज प्रधान, अनुप दास, कुमार महाराज, भरत बुढाथोकी, सुधिर चौधरी, रविन कार्की, रुपेस सिंह, रत्न विक र भुवन गन्धर्वले साथ दिएका थिए ।

बिगत ६ वर्षदेखि अमेरिका बस्दै आएका गायक प्यासी यही एकल साँझका लागि काठमाडौं आएका हुन् । यो एकलसाँझ आफुले सोचेको भन्दै निकै सफल भएको गायक प्यासीले कार्यक्रममा बताए ।गायनका क्रममा उनलाई कार्यक्रममा सँयुक्त स्वरमा आकाश थापा र बिपिन घिमिरेले पनि साथ दिए ।

जनता टिभीको सहकार्यमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गरेको सो कार्यक्रममा संस्थानका तर्फबाट गायक प्यासीलाई सम्मानित गरिएको थियो ।

अग्रज गीतकार एबम् चलचित्र निर्देशक यादव खरेलको आतिथ्यमा सुरु भएको सो कार्यक्रमका उद्घाटन खरेलले गरेका थिए । नेपाली गायन क्षेत्रमा बिगत चार दशकभन्दा लामो समयदेखि सुगम सँगीतबाट योगदान पु¥याएको भन्दै एकलसाँझको आयोजना सहित प्यासीलाई सम्मानित गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए ।

यस्तै संस्थानका अध्यक्ष उधोग राईले धन्यबाद ज्ञापन गर्दै कार्यक्रमका उदृेश्यबारे प्रकाश पारे ।

गायक प्यासीको बारेमा सांस्कृतिक संस्थानका बरिष्ट नाटक प्रबन्धक प्रभाकरदेव शर्माले कार्यक्रममा प्रकाश पारेका थिए । शर्माका अनुसार २०२२ सालमा काठमाडौंको खिचापोखरीमा बुबा प्रतिमान भुषाल र आमा पद्मकुमारी भुषलबाट जन्मिएका प्यासीले अम्बर गुरुङसँग संगीत सिकेर गायन यात्रा सुरु गरेका हुन् ।

गायक प्यासीले २०३० सालमा झलकमान गन्दर्भ र बुबा स्व. प्रतिमान भुषालको संगीतमा पहिलो गीत बिना बादल असिना पानी, फेरी मायाँ लाउलीकी बैमानी…गीत रेकर्ड गराएका थिए ।

उनका गीतहरुमा राष्ट्रिय भावको गीत, भजन, आधुनिक, नेपाली हिन्द (गजल), लोक र नेपाली चलचित्रका गीतहरु पर्दछन् । आफ्नो गायन करिअर सुरु गरेका प्यासीले हालसम्म करिब ४०० गीत रेकर्ड गराईसकेका छन् ।