गायक नरेन्द्र प्यासीको आज एकल साँझ


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ फागुन

९ फागुन अर्थात आज बेलुका अग्रज नरेन्द्र प्यासीको एकल गायन ‘नरेन्द्र प्यासी एकल सांगीतिक साँझ–२०७५ˈ कार्यक्रम आयोजना हुने भएको छ । सांस्कृतिक संस्थान (राष्टय नाचघर)ले सुगम संगीतको पवर्धन गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

नाचघरको मुख्य हलमा आज बेलुका ५ बजेबाट ७ बजेसम्म यो एकल साँझ आयोजना गरिने भएको छ । एकल साँझको सम्पूर्ण तयारी पुरा भएको गायक प्यासीले जानकारी गराएका छन् ।

गायक प्यासीले २०३० सालमा झलकमान गन्दर्भ र बुबा स्व. प्रतिमान भुषालको संगीतमा पहिलो गीत बिना बादल असिना पानी, फेरी मायाँ लाउलीकी बैमानी…गीत रेकर्ड गराएका थिए । यो आफ्नो गायन करिअर सुरु गरेका प्यासीले हालसम्म करिब ४०० गीत रेकर्ड गराईसकेका छन् ।

उनका गीतहरुमा राष्ट्रिय भावको गीत, भजन, आधुनिक, नेपाली हिन्द (गजल), लोक र नेपाली चलचित्रका गीतहरु पर्दछन् । प्यासीका चर्चित गीतहरु मध्य के भुल भयो प्रिया…, तिमीले दिने मायाँ अजम्बरी छ भने…, तिमी बिनाको जीवन.., तिम्रो दिलमा चोट लाग्दा…, म तिम्रो मान्छे बन्न सकिन…, मायाँ ओ मायाँ…, एउटा परदेशी आई…, काठमाडौं छुट्यो हेर्दा हेर्दै…लगायत दर्जनौ छन् । कलाकार प्यासरीले बिहिबार साँझ आयोजना हुने एकल साँझमा यी सहित १३ ओटा आफ्ना गीत गाउने छन् ।

कार्यक्रममा उनलाई सांस्कृतिक संस्थानका कलाकारहरु बिपिन घिमिरे, आकाश थापा र शिला बिष्टले साथ दिँदैछन् । यो एकल साँझमा सँगीत संयोजनको भूमिका दिनेश रेग्मीले गर्दैछन् । एकल साँझमा उनले एक दर्जन भन्दा बढी बाद्यबादकका साथ प्रत्यक्ष संगीतमा आफ्ना यी लोकप्रिय गीतहरु प्रस्तुत गर्दैछन् । उनले यो कार्यक्रममा गीतकार डा. कृष्णहरि बरालसहित अग्रज देखि नयाँ पुस्ताका गीतहरु गाउँदैछन् ।

सांस्कृतिक संस्थानलाई आत्म निर्भर बनाउने उदेश्यका साथ ब्यबसायिक कार्यक्रमको रुपमा यो कार्यक्रम आयोजना गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी गराएका छन् । अहिलेसम्म संस्थानले न्युनतम टिकट शुल्क लिएर तथा निःशुल्क रुपमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको भए पनि अब उप्रान्त स्तरीय व्यबसायिक कार्यक्रमहरुको उत्पादन तथा प्रदर्शन गर्ने लक्ष्य सहित यो कार्यक्रम आयोजना गरेको पनि महाप्रबन्धक थापाले जानकारी गराए ।

२०२२ सालमा काठमाडौंको खिचापोखरीमा बुबा प्रतिमान भुषाल र आमा पद्मकुमारी भुषलबाट जन्मिएका प्यासीले अम्बर गुरुङसँग संगीत सिकेर गायन यात्रा सुरु गरेका हुन् ।