ट्रेलरमा नक्काली कागजपत्रको कथा


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ फागुन

चलचित्र कागजपत्रको बुधबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । यसमा विदेश पलायनको लागि अवैधानिक उपाय लगाएर नक्कली कागजपत्र बनाएको प्रसँग समेटिएको छ ।

कागजपत्र मिलाउनकै लागि गरिने नक्कली विवाह, त्यसले निम्त्याउने समस्या, कन्सल्टेन्सीले विदेश उडाउन नसकेपछि परिवारमा आएको तनावलाई ट्रेलरमा प्र्रस्तुत गरिएको छ ।

ट्रेलरअनुसार गाउँकी एक सामान्य परिवारकी महिलाले पैसाको लागि घरखेत बेचेर आफ्ना ४० वर्षीय श्रीमान्लाई २० वर्षीय युवतीको डिपेन्डेन्टमा अस्ट्रेलिया पठाउन खोज्दा भोग्नुपरेको पीडामा आधारित भई चलचित्र तयार गरिएको छ ।

नक्कली कागजपत्र बनाएर विदेश जाने लर्कोलाई आफूले यो चलचित्रबाट व्यंग्य गरेको यो चलचित्रका निर्देशक अपिल विष्टले कार्यक्रममा बताए ।

अभिनेता नाजिर हुसेनले कागजपत्रमा आफूले जग्गा दलालको भूमिका निर्वाह गरेको खुलाए ।

फिल्ममा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया छिर्न चाहने पुरुषको भूमिका निभाएका भोलाराज सापकोटाले चलचित्र सत्य कथामा आधारित रहेको बताए । सापकोटालाई अस्ट्रेलिया लैजान चाहने युवतीको भूमिकामा रहेकी शिल्पा मास्केले यो आफ्नो पहिलो चलचित्र भएको र सक्दो मिहिनेत गरेको बताइन् ।

यसमा सरिता गिरी, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहाडी, अर्जेस रेग्मी, जीवन भट्टराईलगायतको अभिनय छ ।