क्याप्टेनको ओभर फ्लो खान द ब्रेक अप नआएको हेमराजको भनाई


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ फागुन

१७ फागुनबाट रिलिज हुने फिल्म क्याप्टेनको ओभर फ्लो खानका लागि अन्य चलचित्र आउन लागेको भन्ने बिषयमा अभिनेता अनमोल केसीले बोलेको प्रसँगको निर्देशक हेमराज बिसीले खण्डन गरेका छन् । निर्माता निर्देशक बिसीले आफु कसैको पनि ओभर फ्लो खान नआएको बताएका छन् ।

अभिनेता अनमोल केसीले सञ्चारकर्मीसँग क्याप्टेनको ओभर फ्लो खानका लागि अरु फिल्म आउँदा फरक नपर्ने प्रतिक्रिया दुई दिन अघि दिएका थिए । सोही प्रसँगमा यी निर्देशकले बुधबार सञ्चारकर्मीसँगको भेटमा प्रतिक्रिया दिँदै भने,‘मेरो फिल्म द ब्रेकअपको लगानी पनि कम छैन । त्यसैले कसैले ओभर फ्लो खान आउँदा फरक पर्दैन भनिरहँदा त्यो ओभर फ्लोले मेरो फिल्मको लगानी उठ्दैन ।’

आफु र अनमोल केसीबीचको सम्बन्ध अहिले पनि त्यत्तिकै राम्रो भएको निर्देशक बिसीले दाबी गरेका छन् । आगामी १७ फागुनमा दुई ओटै फिल्मले राम्रो व्यापार गर्ने उनको विश्वास छ । त्यही मितिमा फिल्म ल्याउनुको कारणबारे यी निर्देशकले भने,‘२७ पुषमा मेरो फिल्म ब्रेक अपको भिएफएक्स काम पुरा नभएपछि वितरकहरुको सल्लाहमै मैले १७ फागुनमा द ब्रेकअप रिलिज गर्नु परेको हो । यो बाहेक अरु मितिमा फिल्म ल्याउँदा पनि अन्य फिल्मसँग जुध्नु परेको र १७ फागुनमा रिलिज हुने फिल्म जात्रैजात्रा हटेपछि त्यो मितिमा क्याप्टेन मात्र भएको र तीन दिनसम्म बिदा परेका कारण मैले द ब्रेक अप सोही मितिमा ल्याएको हुँ ।‘

यो चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, इच्छा कार्की, रमेनदाश श्रेष्ठ, सरोज खनालसहितको अभिनय रहेको छ ।