पशुपति शर्माले युट्युवबाट गीत हटाएपछि युवा संघको धन्यबाद


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ फागुन

‘लुट्न सके लुट कान्छा
लुट्न सके लुट…’

गायक पशुपति शर्माको यो आफ्नो युट्युव च्यानलबाट रिलिज भएको २४ घन्टामै नेपालको युट्युव ट्रेन्टिङमा पर्यो । अहिलेको सरकारलाई लक्षित गरिएको गीतले जताततैबाट वाहवाही पायो । अन्तत ट्रेन्टिङमा १३ स्थानमा आएपछि यो गीतको भिडियो युट्युवबाटै गायव भयो ।

आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै उनले यो गीतलाई युट्युव च्यानलबाट हटाएका हुन् । यो गीतको भिडियो हटाउनुको कारणबारे शर्माले गीतमा आफुले केही शब्दहरु गलत प्रयोग गरेको सामाजिक सञ्जाल मार्फत प्रस्ट्याएका छन् । यो गीतको भिडियोलाई गायक शर्माले शुक्रबार अर्थात २ फागुनमा रिलिज गरेका थिए ।

शर्माको गीतमा प्रयोग भएको केही शब्द विवादका कारण यो गीत रातारात विवादमा तानियो । मुलत गीतमा राष्ट्रपतिलाई समेत लक्षित गरेर उनले हेलिकप्टरको बिषयमा ब्याँग्य गरेका थिए । गीतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ब्याँग्य गरिएपछि यसको बिरोध सुरु भएको हो । उनले अहिलेको सरकारलाई यमराजको सँज्ञा दिएका थिए ।

यसरी सरकारलाई ब्यँग्य गर्दै शर्माको भिडियो आएपछि युवा संघ नेपालले तत्कालै सामाजिक सञ्जाल फेसबुक मार्फत पशुपति शर्माका कार्यक्रमहरु आ–आफ्नो ठाउँमा शशक्त बहिस्कार गर्न गराउनु सम्पूर्ण युवाहरुलाई आह्वान गर्यो । फेसबुकमा युवा संघको तर्फबाट यस्तो लेखियो,‘उनको राजनीतिक झुकाब र चरित्रको बिषयमा सबै प्रस्ट नै छन, तर एक ब्याबसायिक कलाकारको प्रस्तुतिमा योजनाबद्द हिसाबले कम्युनिस्ट पार्टीलाई खुईल्याउँदै चुनाबी गीत जस्तो गरी काङ्ग्रेसको पक्षपोषण गरेको देखिन्छ । धेरै बिषय राम्रा उठाई रहदा केहि बिषयका माध्ययमबाट कम्युनिस्ट पार्टी माथी प्रहार नियत स्पष्ट देखिन्छ ।’

यसरी युवा संघले गीतका कमी कमजोरी केलाएर युवाहरुलाई यो गीत बहिष्कारको आह्वान गरेपछि सरकार पक्षधर युवाहरुले यो गीत र यसको भिडियोको जताततै विरोध गरे । यो गीत र शर्मा बिरुद्ध निरन्तर आएको बिरोधलाई खेप्न नसकेर भिडियाबारे फेसबुकमा सूचना राख्दै पशुपति शर्माले युट्युवबाट गीत हटाए । उनले यसरी गीत हटाउँदा फेसबुकबाट माफीसमेत मागेका छन् ।

युट्युवबाट पशुपति शर्माले सो गीत हटाएपछि युवा संघ नेपालले फेरी फेसबुकमार्फत उनलाई धन्यबाद ज्ञापन गर्दै यस्तो लेख्यो,‘शब्द चयनमा भएको गल्ती महसुस र क्षमायाचना ब्यक्त गर्दै शंशोधन सहित पुन अपलोड गर्ने गरी पशुपति शर्माजीले भिडियो हटाउनु भयो र यस बिषयमा प्रटोक्ती सहित आफ्नो स्टेटमेण्ट पनि जारी गर्नु भएको छ । यसका लागि यहाँलाई धन्यबाद । तथापी बिकृती, बिसँगति बिरुद्धका तपाईंका प्रस्तुतिहरु अझ बुलन्द रुपमा आईरहुन्, हाम्रो साथ र सहयात्रा रहिरहनेछ ।’

संघले अगाडि लेखेको छ,‘केहि मिडियाका टिप्पणी र समाचारका आधारमा बनेको सामाग्री र यसबाट सृजित परिस्थितिको सानो उदाहरण मात्र हो यो । जसले तपाईमा रहेका केहि भ्रमहरु पनि निवारण गरेको हुनुपर्छ भन्ने हाम्रो बिश्वास हो । आवाजहरु अझ शशक्त रुपमा उठाउनुस, तर आधारहिन बिषय र कुनै निश्चित बिचार र समुदाय प्रतिको नियोजित पूर्बाग्रह नझल्कियोस ।’

अन्त्यमा युवा संघले लेखेको छ,‘नेपाली कला र कलाकार प्रतिको हाम्रो सम्मान र योगदान उत्तिकै जिबित रहनेछ, तर पारस्परिक सवालको बिषय पनि हो यो । जसमा अरुको आत्मसम्मानको पनि हेक्का रहोस ।’

यसरी युवा संघ नेपालको सुरुको फेसबुक स्टाटस आएपछि बढेको भिडियो प्रतिको विरोध दोश्रो स्टाटस आएपछि अहिले सेलाएको छ । संघले समेत फेसबुकबाट पशुपति शर्मालाई धन्यबाद दिएको छ ।
यता युट्युवबाट गीत हटाएपछि सरकारका विपक्षी देखि पशुपति शर्माका फ्यानहरुले समेत यतीबेला शर्माको पक्षमा आबाज उठाउन थालेका छन् । सामाजिक सञ्जालका भित्तामा शर्माको पक्षमा समर्थन र युवा संघ तथा सरकारलाई टिका टिप्पणी गर्ने क्रम पनि बढेको छ ।

शर्माले चाँडै यो गीतलाई परिमार्जित गरेर बजारमा ल्याउँछु भनेका छन् । सरकारले आफ्नो कार्यकालको एक वर्ष पुगेको अबसरमा वार्षिक उत्सब मनाईरहेको बेला शर्माले यस्तो गीत रिलिज गरेका हुन् । सोही कारण पनि यो गीतलाई सरकारको विरोधीहरुको चाल हो भनेर टिप्पणी गरियो । त्यसैले अब आउने नयाँ गीतमा कस्ता शब्द शर्माले प्रयोग गर्छन भन्ने प्रतीक्षाको विषय बनेको छ ।