मारुनीको मुहुर्त, सर्यो सुटिङ


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ फागुन

चलचित्र मारुनीको छायाँकन १३ फागुनबाट सुरु हुने भएको छ । शुक्रबारबाटै छायाँकन सुरु हुने तयारी भए पनि यसका छायाँकार सञ्जल लामा अन्य चलचित्रमा व्यस्त भएपछि शुक्रबार फिल्मको मुहुर्त गर्दै छायाँकन साईज जुराईयो । काठमाडौंको कमलादी स्थित गणेशस्थानमा यो चलचित्रको शुक्रबार बिहान मुहुर्त गरिएको हो ।

चलचित्र मारुनी लाई नवल नेपालले निर्देशन गर्दैछन् । जसमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का र रेविका गुरुङको मुख्य भूमिका रहनेछ । यी तीन वीचको त्रिकोणात्मक प्रेमकथा यो फिल्मले भन्ने छ । चलचित्रमा बाल–कलाकारको रुपमा कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्यको रहने छन् ।

मुहुर्तको क्रममा कृष्ण गौतमले क्ल्याप हानेका थिए । साम्राज्ञी आफैले मुहुर्त सर्टको निर्देशन गरेकी थिइन् । यो चलचित्रलाई आउँदो बर्षको भदौ १३ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गर्न लागेको यो चलचित्रको सह–निर्माताको रुपमा दर्शना केसी रहनेछिन् । मुहुर्त कार्यक्रममा बोल्दै निर्मात्री पूनम गौतमले भनिन्–‘हामी एउटा फरक कथामा चलचित्र निर्माण गर्दैछौ । दर्शकको मायाले यो चलचित्र सफल हुनेमा विश्वस्त छु ।’ निर्देशक नवल नेपालले चलचित्रले मनको कथा बोल्ने बताए । उनले चलचित्र हेरिसकेपछि दर्शकलाई ताजा कथा लाग्ने बताए ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कथा मनपरेपछि आफू काम गर्नका लागि उत्साहित भएको बताइन्, ‘म पहिलो पटक कुनै चलचित्रको शुभसाइतमा मन्दिर आएकी हुँ । मन्दिर आएपछि अब आफ्ना सबै काम राम्रो हुन्छन् भन्ने लागेको छ ।’ उनले थपिन्,‘यो चलचित्र पनि राम्रो बन्नेछ, दर्शकलाई ढुक्क हुन आग्रह गर्दछु ।’

कार्यक्रममा अभिनेता पुष्पल खड्का र नव अभिनेत्री रेविका गुरुङले पनि चलचित्रको कथावस्तु राम्रो रहेको बताए ।