भ्यालेन्टाईनकै दिन प्रेम दिवसको फस्ट लुक्स रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ फागुन

चलचित्रको नाम नै प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे । त्यसैले त यो फिल्मको निर्माण पक्षका लागि भ्यालेन्टाईन डे विशेष दिन हुनसक्छ । यही विशेष दिनको अबसर पारेर बिहिबार निर्माण पक्षले यो फिल्मको फस्ट लुक्स्को रुपमा दुई ओटा पोष्टर रिलिज गरेको छ ।

प्रेम दिवस नाम राखिएको र बिशुद्ध प्रेम कथामा आफ्नो फिल्म आधारित रहेकाले प्रेम दिवसकै दिन फस्ट लुक्स रिलिज गरिएको यसका निर्माता सञ्जय न्यौपानको भनाई छ ।

आगामी असारमा वैवाहिक सम्बन्धमा बाँधिने तयारीमा रहेका प्रेम जोडी अभिनेता आयुष्मान देशराज जोशी र प्रियँका कार्की अहिले नयाँ फिल्म प्रेम दिवस (भ्यालेन्टाईन डे)मा जोडी बनेर प्रस्तुत भएका छन् । यो भ्यालेन्टाईनका सिने क्षेत्रका चर्चित जोडीमा आयुष्मान र प्रियँका पनि परेका छन् । यही जोडीलाई प्रेम दिवसको फस्ट लुक्समा समेटिएको छ ।

यो चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । पूर्वी नेपालको इलाम र सन्दकपुरको सुन्दरतालाई सिनेमामा समेटेर यो क्षेत्रको पर्यटन प्रवर्धनका लागि प्रेम दिवसबाट प्रयास गरिएको निर्देशक घिमिरेले बताए । पारिवारिक प्रेमकथामा फिल्म आधारित रहेको पनि उनले बताए ।

निर्देशक घिमिरेका अनुसार यो फिल्म आगामी ३ जेठबाट देशव्यापी रिलिज हुँदैछ । जसमा आयुष्मान र प्रियँकासँगै विशाल खरेल, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेलको मुख्य भूमिका छ ।

फिल्मको सह निर्मातामा रमेश चौधरी र उत्सव ढकाल छन् । मानकृष्ण महर्जनको छायांकार छ । यसको कथा, पटकथा तथा संवाद लेखन प्रदीप भारद्धाजले, द्धन्द्व निर्देशन रोशन श्रेष्ठ, सम्पादन बनिष शाह, मिलन श्रेष्ठले गरेको हुन् ।