श्रम मन्त्रीलाई रेखा थापाको ज्ञापन पत्र


ब्युटी न्युज नेपाल
काठमाडौं, २ फागुन

विशेष गरेर बैदेशिक रोजगारबाट नेपाल फर्किएकाहरुले झिटी गुन्टाको करका रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुःख पाएपछि अभिनेत्री रेखा थापाले यसलाई सहज बनाउन पहल सुरु गरेकी छिन् ।
नेपाली कामदारले आफ्नै बिमान स्थलमा दुःख पाएको कार्यको बिरोध गदै अभिनेत्री रेखा थापाले नेपाल सरकारका रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई बुधबार उनकै मन्त्रालयमा भेटेर ज्ञापन पत्र बुझाएकी छन् ।

सो ज्ञापन पत्रमा उनले बिदेशबाट फर्केका नेपालीहरुमाथि सरकारले गरेको कडाईलाई गम्भीरताको रुपमा लिन आग्रह गरेकी छिन् । सरकारले झिटी गुन्टामाथि कर लगाएर बिदेशमा रगत पसिना बगाएर आएका सोझा नेपाली कामदारहरुलाई दुःख दिँदै उनीहरुमाथि सरकारले दादागिरी मच्चाएको पनि ज्ञपनपत्र मार्फत जनाएकी छिन् ।

सरकारले सुन तस्कर, अपराधिक क्रियाकलापहरु नियन्त्रण गर्न नसकेको रेखाको भनाई छ । तर सरकारले विदेशमा काम गरेर फर्केका हवाई यात्रीबाट सामान जफत गरेर लिलाम गर्ने गरेको सरकारी निर्णयलाई खारेज गर्न र उपहारका सामान निर्वाध रुपमा ल्याउन दिनु पर्ने माग उनले ज्ञापनपत्र मार्फत सरकारसँग राखेकी छिन् ।

श्रमिक माथि हुने असम्मान व्यवहार र उनीहरुबाट घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन आफुले गराएको ध्यानाकर्षणलाई सरकारले नसुने विमानस्थलमा एक्लै भएपनि बिरोध जनाउने बताएकी छन् ।

रेखाले ज्ञापनपत्र बुझाएपछि फेसबुकमा लेखेकी छन,‘संसार भरी रहेका सम्पूर्ण नेपाली श्रमिक दाजुभाइले नेपाल फर्किदा त्रिभुवन बिमानस्थलमा झोला झिम्टी र सामान जफत भएको बिषयमा गत साता देखी आवाज उठिरहेको छ । श्रमिक माथि हुने असम्मान व्यबहार र उनिहरुका घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन नेपाल सरकारका माननीय रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई आज मन्त्रालयमा भेटेर हजारौ श्रमिकहरुको गुनासो तथा ध्यानाकर्षण पत्र बुझाईयो ।’