पहिलो पटक प्रदान गरियो १२ विधामा सोसियल मिडिया फिल्म अवार्ड–२०७५


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ माघ

सामाजिक सञ्जालमा आएका भिडियोलाई लक्षित गरेर पहिलो पटक सोसियल मिडिया फिल्म अवार्ड आयोजना गरिएको छ । सामाजिक सञ्जालमा आएका छोटा फिल्म, भिडियो, सन्देश, समाचारहरूबीच प्रतिस्पर्धामूलक अवार्ड ‘सोसियल मिडिया फिल्म अवार्ड–२०७५’ आइतबार राजधानीमा विभिन्न १२ विधामा प्रदान गरिएको हो ।

सर्ट फिल्मतर्फ उत्कृष्ट सर्ट फिल्म अवार्ड ‘अलिखित’लाई, उत्कृष्ट सर्ट फिल्म निर्देशक अवार्ड ‘अलिखित’बाट अनिरुद्र दुवाडीलाई, सर्ट फिल्म एडिटर अवार्ड ‘पुन्टेको पांग्रो’बाट मुकेश चौधरी र योगराज खनाललाई, सर्ट फिल्म ध्वनि अवार्ड ‘पुन्टेको पांग्रो’बाट विनय अधिकारीलाई, सर्ट फिल्म छायाकार अवार्ड ‘द आर्टि्स्टिक आर्टिस्ट’बाट विकल थापालाई प्रदान गरियो । यस्तै, सर्ट फिल्म उत्कृष्ट अभिनेताको अवार्ड ‘बोकाहरू ः द क्रोनिकल्स अफ सोसियल अवेर्नेस’बाट अनिषजंग थापा र निमेश श्रेष्ठलाई, सर्ट फिल्म उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘लाचार’बाट स्मृति न्यौपानेलाई प्रदान गरियो ।

कार्यक्रममा सर्ट फिल्म बोकाहरूलाई जुरी अवार्ड, सञ्चिता बुढाथोकीलाई पब्लिक च्वाइस अवार्ड, विकास गुरुङ घलेलाई इनकरेजमेन्ट अवार्ड, राज मानन्धरलाई उत्कृष्ट सन्देश अवार्ड प्रदान गरियो । कार्यक्रमको निर्णायकमा फिल्म सम्पादक करुण थापा, सञ्चारकर्मी केपी ढुंगाना र संगीता श्रेष्ठ थिए ।

सामाजिक योगदानबापत समता स्कुलका संस्थापक उत्तम सञ्जेललाई ‘सोसियल मिडिया सामाजिक अभियान्त सम्मान’, पत्रकार कुवेर गिरीलाई ‘सोसियल मिडिया रंग पत्रकारिता सम्मान’ र चलचित्र निर्देशक संगीता श्रेष्ठलाई ‘सोसियल मिडिया चलचित्रकर्मी सम्मान’ प्रदान गरियो । यी तीनै जनालाई सम्मानसँगै जनही ११ हजार १११ रुपैयाँ पनि प्रदान गरिएको थियो ।

ड्रिम वल्र्ड अफ फिल्म मेकरले आयोजना गरेको सो कार्यक्रममा उत्कृष्ट वृत्तचित्र अवार्ड दयाराम घिमिरेको ‘जोगी’लाई, फेसबुक भिडियो अवार्ड निमेष श्रेष्ठको ‘गु कान्ड’लाई, युट्युब भिडियो अवार्ड पनि निमेसकै ‘भ्वाइस अफमिडिल क्लास’ भिडियोलाई, न्युज भिडियो अवार्ड सन्तोषी अधिकारीलाई र उत्कृष्ट ट्रोल अवार्ड ट्रोल फुटबल नेपाललाईप्रदान गरियो ।

आयोजक संस्थाकी अध्यक्ष सवनम मुखियाले नेपालीमा पनि अन्तर्रा्ष्ट्रियस्तरका सर्ट फिल्म, सोसियल मिडिया भिडियो निर्माण हुने भए पनि त्यसको कतैबाट सम्मान नहुने भएपछि आफूहरूले यो अवार्ड थालेको बताइन् ।

अग्रज संगीतकार शम्भुजित बाँसकोटाले कार्यक्रमको उद्घाटन गर्दै यस्ता प्रकारका अवार्डले सर्ट फिल्म र सोसियल भिडियोको विकास र विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्ति गरे ।