प्रदीप र जसिताको भ्यालेन्टाईनमा दर्शकलाई घाम जुन उपहार


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ माघ

चर्चित अभिनता प्रदीप खड्का र दर्शककी प्रिय अभिनेत्री जसिता गुरुङले यस पटकको प्रणय दिवस (भ्यालेन्टाईन डे)मा आफ्ना प्रिय दर्शकलाई घाम जुन उपहार दिने भएका छन् ।

नयाँ वर्षको अबसर पारेर यी जोडीको नयाँ फिल्म लभ स्टेशन आगामी २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुँदैछ । यही चलचित्रको पहिलो गीत चाहिँदैन घाम जुन…को भिडियो दर्शकलाई भ्यालेन्टाईन उपहारको रुपमा प्रणय दिवसकै दिन बुढा सुब्बा डिजिटलबाट प्रदीप र जसिताले पस्कन लागेका हुन् ।

छायाँकनका लागि भियतनामको विश्वभर चर्चित लोकेशनमा गत साता छायाँकन गरिएको यो गीतको भिडियो अभिनेता प्रदीप र अभिनेत्री जसिताको अहिलेसम्मकै सुन्दर स्थानमा छायाँकन गरिएको भिडियो सावित हुने विश्वास गरिएको छ ।
दीपक शर्माको शब्द संगीत रहेको यो गीतलाई सुगम पोखरेल र रेश्मा पुनमगरले गाएका हुन् । गीत रिलिजको काउन डाउन बुढा सुब्बा डिजिटलबाट सुरु गरिसकिएको छ । गीतसँगै भिडियो पनि उत्कृष्ट बनेको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताएका छन् ।

अभिनेता प्रदीप खड्काले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक सिनेमा बनेको बताएका छन् । यो पारिवारिक तथा सांगीतिक प्रेमकथामा आधारित रहेको र अहिलेसम्मको काम प्रसँसनीय भएको यी अभिनेताले जानकारी गराए । नयाँ गीत घाम जुन नै चाहिँदैन पनि साह्रै मिठो र भिजुअल रुपमा निकै सुन्दर बनेको उनको कथन छ । आफ्ना प्रसँसकका लागि भ्यालेन्टाईनमा यो आफु र जसिताको सुन्दर र मिठास उपहार हुने विश्वास प्रदीपको छ ।

 चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।