प्रणय दिवसलाई सन्तोषको सातौं जनम


ब्युटी न्युज नेपाल
काठमाडौं २७ माघ

प्रणय दिवसको छेको पारेर गायक सम्पथ ढकाल ‘सन्तोष’ ले ‘सातौं जनम…’ गीतको भिडियो रिलिज गरेका छन् । मायाप्रेमको विषयमा केन्द्रित रही तयार पारिएको गीतमा स्वर, शब्द तथा संगीत पनि गायक ढकालकै छ ।

विशाल निरौलाले एरेन्ज तथा मिक्सिङ गरेको गीतको भिडियो निर्देशन दिपक अधिकारीले गरेका छन् । भिडियोको सम्पादन विजयराज भुर्तेलले गरेका छन् । सातौं जनमसँगै बाँच्ने कसम खाएको भावमा मोडल आवाज गुरुङ र सुशिक्षा पराजुलीले अभिनय गरेका छन् ।

गीतको भाव अनुसार नगरकोटको सुन्दर दृश्यलाई भिडियोमा कैद गरिएको निर्देशक अधिकारीले बताए । वासु बरालले छायांकन गरेको उक्त गीत ओएसआर डिजिटलबाट शनिबार रिलिज गरिएको गायक ढकालले जानकारी दिए ।