एभरेष्ट इन्टरनेशलन फिल्म अवार्ड हङकङमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ माघ

आगामी जुनमा हङकङमा नेपाली फिल्म सम्बन्धि अवार्ड समारोह ‘एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९’ आयोजना गरिने भएको छ । काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराईएको हो । सन २०१८ मा रिलिज भएका नेपाली चलचित्रलाई विभिन्न २० विधामा सफलताको हिसावले यो अवार्ड आगामी जुनमा हङकङमा प्रदान गरिने भएको छ ।

सो अवार्डबारे जानकारी गराउन नेपाल आएका आयोजक एवम् बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बुले अवार्डबारे पत्रकार भेटघाटमा जानकारी गराए । उनले सो क्रममा एकजना बरिष्ट चलचित्रकर्मीलाई लाइफ टाइम अचिभमेन्टद्वारा सम्मान पनि गरिने जानकारी गराए ।

अवार्ड समारोहका लागि जानकारी गराउँदै लिम्बुले भने,‘अवार्डमा सहभागी हुने सम्पूर्णले केहि खर्च गर्नु पर्नेछैन, नेपाल एअरपोर्टबाट हङकङको बसाइ र फेरी नेपाल एअरपोर्टसम्मको सम्पूर्ण दायित्व हाम्रो रहनेछ । हामी परदेशमा रहेता पनि नेपाली फिल्म र गीतसंगीतलाई निकै माया गर्छौ ।’ त्यसैले एउटा राम्रो कार्यक्रम गरेर देखाउ भनेर आफुहरु अग्रसर भएको पनि उनले बताए ।

पत्रकार भेटघाटका क्रममा नेपालका लागि अवार्ड संयोजक एवम् सञ्चारकर्मी भट्टराईले अवार्ड बारे भने,‘पपुलरको आधारमा २० विधामा प्रदान गरिने यो अवार्डको हामीले नोमिनेशन यहि आउँदो मार्चमा सार्वजनिक गर्दैछौ र त्यसमा नै हामी लाइफटाइम अचिभमेन्ट अवार्डको पनि घोषणा गर्नेछौ । नेपाली अवार्ड अन्तराष्ट्रिय भूमिमा यतिसम्म भब्य पनि हुन्छ भनेर देखाउने हाम्रो कोसिस हो ।’

नेपाली चलचित्रको बजार विदेशमा बिस्तार गर्न आफु मलेशियाबाट आधा दशक अघि नेफ्टा अवार्ड सुरु गरेको र यसपटक हङकङमा यो अवार्ड गर्न लागेको आयोजक संगीक्षा फिल्मका अध्यक्ष मनोज केसीले बताए । अवार्डमा मनोनयन भएकाहरुले त्यहाँ जना पैसा तिर्नु नपर्ने उनले जानकारी गराए । नेपाली सिनेमासँगै नेपालका आदिबासी जनजाति सिनेमाको प्रोत्साहनका लागि समेत यो अवार्ड भएकाले २० मध्य तिन विधामा आदिवासी फिल्मको अवार्ड भएको पनि केसीले बताए ।

मिस नेपाल हङकङ सोसाइटी सेक्रेटरी मनिष लिम्बुले तीन हजार पाच सय दर्शक क्षमता भएको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा यो अवार्ड आयोजना हुने बताए । अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा स्थानीय वकिल तथा विजनेसम्यान गौरव बम ठकुरी, मिस नेपाल हङकङ सोसाइटीकि कोर्डीनेटर शान्ति नेपालीले पनि अवार्ड भव्य तुल्याउन आफुहरुले कुनै कसरबाँकी नराख्ने बताए ।

मिस नेपाल हङकङ सोसाइटीकि उपाध्यक्ष लिलेश्वरी खड्का, योगा ट्रेनर तथा बिजनेसम्यान सञ्जु भट्ट लक्ष्मी चन्द, सुयोग शाक्य, रेवती खड्का, रोशनी श्रेष्ठ , रेविका राइ, विष्णु पुन र राकेश लिम्बु पनि आयोजक टिममा रहेको कार्यक्रममा जानकारी गराईयो ।

अवार्डको मुख्य निर्णायक एवम् अग्रज अभिनेता सुनिल थापाले अवार्डलाई निष्पक्ष तुल्याउन आफुहरुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता सो कार्यक्रममा जनाए । आफ्नो संस्था एभरेष्ट फिल्म एकेडेमी समेत जोडिएकोमा उनले खुसी व्यक्त गरे ।

नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले बिदेशी भूमिमा हुने यस्तो अवार्डले त्यहाँ नेपाली चलचित्रको विस्तारमा मद्धत पुग्ने विश्वास व्यक्त गरे । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी अवार्डलाई व्यबस्थित गर्न सुझाब दिए ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, वितरक गोपाल कायस्थले पनि यो अवार्ड भव्य र निष्पक्ष हुने विश्वास कार्यक्रममा व्यक्त गरे ।

तस्बिर ः आर्यन बिमली