ब्युटी न्युज नेपाल

काठमाडौं २३ माघ

आगामी १७ माघबाट रिलिज हुने चलचित्र ‘क्याप्टेन’को एउटा गीतमा अनमोल केसीसँगै उनका पिता भुवन केसी र अभिनेत्री निरुता सिंहलाई सँगै नाचेको देख्न पाइने भएको छ ।

भुनव र निरुता यो फिल्ममा विशेष भूमिकामा देखिँदै छन् । निरुताले भुवन केसीसँग पहिलो चलचित्र ‘दक्षिण’मा २५ वर्षअघिसँगै काम गरेकी थिईन् । त्यसपछि पछिल्लो पटक १४ वर्ष अघि भुवन र निरुताले शिव रेग्मी निर्देशित चलचित्र दुनियाँमा काम गरे । आफुले निरुतासँग यो डेढ दशकको अन्तरालमा काम गरेको अभिनेता निर्माता भुवन केसीले ब्युटी न्युज नेपाललाई बताए ।

यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरिरहेका छन् । कर्ली कर्ली…बोलको यो गीत लोक लयमा आधारित छ । गीतलाई फुटबलको अवधारणाको नृत्यमा छायाँकन गरिएको पनि निर्माता भुवनले खुलाएका छन् । गीतको भिडियो एक साताभित्र सार्वजनिक गरिने छ ।

यो गीतको छायाँकन मँगलबार बेलुका सकिएको छ । मेलिना राई र एसडी योगीको आवाजमा तयार भएको यो गीतमा एसडीकै शब्द तथा संगीत छ । गीतको भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी थिइन् ।

यो चलचित्रमा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, सरोज खनाल, राजाराम पौडेल मुख्य भूमिकामा छन् ।

यसैबीच क्याप्टेनको ट्रेलर मँगलबारबाट युट्युव नेपालको ट्रेन्डिङ ४ मा परेको छ । अहिलेसम्म सबैभन्दा बढी ४ दिनमा १५ लाख भ्युज पाएको हो । यसलाई ओ एस आर डिजिटलबाट रिलिज गरिएको थियो ।