यसकारण बोर्ड अध्यक्षबाट निकिताको राजीनामा


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ माघ

चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट निकिता पौडेलले राजीनामा दिएकी छन् । उनले मंगलबार आफ्नो पारिवारिक कारण देखाउँदै बोर्ड अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् ।

निकिताले दुई साताअघि न्युज २४ च्यानलका सञ्चारकर्मी रवि लामिछानेसँग कानुनी विवाह गरेकी हुन् । उनले रविसँग आगामी वैशाखमा विवाह गर्दै छिन् । सोही विवाहको तयारीका लागि पनि उनले राजीनामा दिएकी हुन् । निकिताले एक विज्ञप्ति जारी गर्दै अब निजी जीवनमा व्यस्त हुनुपर्ने भएकाले राजीनामा दिएको स्पष्ट पारेकी छन् ।

बुधबारदेखि लागू हुने गरी राजीनामा दिएको पनि उनले विज्ञप्तिमा जनाएकी छन् । चलचित्र विकाश बोर्डको अध्यक्ष रहँदा पछिल्लो तीन महिनामा आफूले पाएको तलब श्रीमान् रवि लामिछानेको संयोजकत्वमा निर्माण हुन लागेको रास्कोट सामुदायिक अस्पताललाई प्रदान गरेको पनि उनले विज्ञप्तिमार्फत जानकारी गराएकी छन् ।

मन्त्रालय र मन्त्रीको आदेश नमानेको भन्दै सरकारले निकितालाई हटाउन लागेको चर्चा सोमबारबाट चलेको थियो । हुन पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दुई दिनअघि राखेको समीक्षा बैठकमा प्रगति विवरण बुझाउनुपर्नेमा उनी सो बैठकमा उपस्थित भइनन् । सो बैठकमा उपस्थित नभएको कारण खुलाउँदै स्पष्टीकरण दिन उनलाई सोमबार मन्त्रालयबाट पत्र काटिएको थियो । पत्रको जवाफमा निकिताले मन्त्रीलाई राजीनामा नै बुझाएकी छन् । उनले प्रगति विवरण बुझाएको बताउँदै अकस्मत् मंगलबार राजीनामा दिएकी हुन् ।

आफूलाई दिइएका जिम्मेवारी राजीनामा दिनुअघि मन्त्रालयले तोकेको समयसीमाभित्रै समापन गरी त्यसको प्रगति विवरण मन्त्रीलाई बुझाएको पनि निकिताले विज्ञप्तिमार्फत जानकारी गराएकी छन् । गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिताले अब आफ्नो कम्पनीसँगै निजी जीवनमा व्यस्त रहने बताएकी छन् ।

निकितालाई देउवा सरकारले २५ मंसिर २०७४ मा गत वर्ष निर्वाचन आचारसंहिता मिचेर चलचित्र विकास बोर्डको अध्यक्ष बनाएको आरोप अहिलेको सरकारको छ ।

सोही कारण देखाउँदै उनलाई यो सरकारले गत २५ असारमा अध्यक्षबाट पदमुक्त गरेको थियो । त्यसलगत्तै सर्वोच्चमा रिट हालेपछि उनले सर्वोच्च अदालतबाट स्टे अडर लिएर गत १ साउनमा पुनः बहाली पाएकी थिइन् ।

उनको पालामा काठमाडौं उपत्यकामा बक्स अफिस लागू भएको छ । तर, मोफसलमा बक्स अफिस लागू नहुँदै उनले राजीनामा दिएकी हुन् । नेपाली चलचित्र उद्योगको विकासका लागि आफ्नो १४ महिने कार्यकाल पर्याप्त नभए पनि थुप्रै काम गरेको उनले दावी गरेकी छिन् । तर उनले दुई वर्षको राष्ट्रिय चलचित्र पुरस्कार आयोजना गर्न सकिनन् ।