अब सम्झनामा कलाकार विएस राणा


ब्युटी न्युज नेपाल
काठमाडौं १९ माघ

नेपाली चलचित्र बृत्तका अग्रज कलाकार विएस राणा अब हामीमाझ रहेनन् । उनको शुक्रबार बिहान ७८ वर्षको उमेरमा महाराजगञ्ज स्थित त्रिविवी शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मुटु र स्वासप्रस्वास समस्या पीडित राणाको सोही रोगले निधन भयो ।  उनी करीब एक हप्ताअघि शिक्षण अस्पताल भर्ना भएका थिए ।

दिवँगत कलाकार राणाको शुक्रवार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टी सम्पन्न भयो । उनको परिवारमा श्रीमती र दुई छोरी छन् ।

उनले नाटकबाट ६ दशक अघि आफ्नो अभिनय यात्रा सुरु गरेका हुन् । त्यसपछि उनले सिद्धार्थ, वसन्तीसहितको नाटक पनि निर्देशन गरे ।

दर्जनौ टेली चलचित्र र चलचित्रमा उनले कुशल अभिनय गरेका थिए । अन्याय, कोसेली, चिनो, दक्षिणा, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, अपराध, माया त माया हो, वसन्ती, देश, कसले र्चोयो मेरो मन, सेतो बाघ, दर्पण छायाँ–२ सहित राणाले एक सय भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका थिए । अब कलाकार विएस राणा हाम्रो सम्झनामा मात्र छन् ।