चलचित्र रणवीर ९५ हलमा एक साथ रिलिज


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, १८ माघ

एक्सन प्रधान, लभ स्टोरी जनराको फिल्म रणवीर १८ माघ (शुक्रबार) आजबाट मुलुकका ९५ ओटा हलमा एकसाथ रिलिज भएको यसका वितरकहरुले बताएका छन् । विहिबार बेलुका काठमाडौंका कमलपोखरी स्थित क्युएफएक्स कुमारी सिनेमामा भव्य प्रिमियर गरेपछि शुक्रबार बिहानबाट यो फिल्म रिलिज भएको हो ।

काठमाडौंमा एउटा सिँगल हलबाहेक बाँकी सबै २५ ओटा हलमा रणवीर रिलिज भएको उपत्यका वितरक स्टेशन पाईभका अध्यक्ष प्रचण्डमान श्रेष्ठले जानकारी गराएका छन् । यस्तै मोफसलमा ७० ओटा हलबाट रणवीर रिलिज भएको जानकारी यसको मोफसल वितरक एफडी कम्पनीका प्रमुख कपिल द्धाले जानकारी गराए ।

यो चलचित्रमा सुशिल सिटौला, नवोदित अभिनेत्रीद्धय शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटा, सैलेश्वरी सिंहसहितको मुख्य भूमिका छ ।

रणबीरमा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, राजनराज शिवाकोटा, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछोन, गम्भिर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी छ ।

यस अघि गाजा बाजा जस्तो चलचित्र निर्माण गरिसकेका गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले चलचित्र रणवीर निर्माण गरेका हुन् । देशको अहिलेको समस्या भनेकै गुन्डागर्दी, भ्रष्टाचार, बेथिती भएकाले यो विषयमा एक्सन प्रधान सिनेमा आफुहरुले बनाएको यी दुईले बताएका छन् ।

प्रेम कथामा आधारित एक्सन प्रधान यो चलचित्रमा भ्रष्टाचार, बेथिती, ढिलासुस्ती, अपहरण जस्ता विषयले निमत्याएको समस्या उठाईएको यसका निर्देशक गोविन्द सिंह भण्डारीले बताएका छन् । उनको यो डेब्यु निर्देशन फिल्म हो ।

चलचित्रका अभिनेता शुशिल सिटौलाले यस अघिका फिल्ममा चकलेटी भूमिकामा दर्शकले मलाई हेर्दै आए पनि यसमा रणवीर बनेर आफु मुलुकका बिकृति बिसँगति बिरुद्ध उत्रिएको बताएका छन् ।

नवोदित अभिनेत्री एवम् मिसे नेपाल इन्टरनेशलन २०१२ शुभेच्छा खड्काले यो चलचित्रमा एक जिम्मेवार युवतीको भूमिका आफुले निर्वाह गरेको जानकारी गराएकी छिन् । अर्का अभिनेता प्रशान्त ताम्राकारले एक्सनमा आफुले सबैभन्दा बढी मेहनत गरेको फिल्म नै रणवीर भएको जिकिर गरेका छन् ।

अर्की नवोदित अभिनेत्री सुपुष्पाले यो चलचित्रमा आफु एउटी प्रेमिकासँगै जिम्मेवारी युवतीको भूमिकामा रहेको जानकारी गराईन् ।