पुजाको पारिश्रमिक १५ लाख, सम्हालिन्छ कहिले मन खेल्दै


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ माघ

अभिनेत्री पुजा शर्माले नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट १५ लाख रुपैयाँ पारिश्रमिक लिएको खुलासा गरेकी छिन् । आईतबार काठमाडौंमा यो चलचित्रको घोषणा समारोहमा उनले यो फिल्मबाट १५ लाख रुपैयाँ पारिश्रमिक लिएको खुलासा गरेकी हुन् ।

साथै कथा राम्रो र टिम राम्रो छ भने आपसी सहमतीमा त्यो भन्दा कम पैसामा पनि फिल्म खेल्न आफु तयार हुने पनि उनले बताएकी छिन् ।

चलचित्रमा आफुले नायक छान्ने गरेको कुरा पनि केही हदसम्म सही भएको बताउँदै चलचित्र सम्हालिन्छ कहिले मनमा पनि सोनाम तोप्देनलाई आफुलाई छानेको उनले प्रस्ट पारिन् ।

यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रको बेलायतमा छायाँकन गरिने पनि निर्देशक थापाले कार्यक्रममा जानकारी गराए । केही प्रतिसत छायाँकन नेपालमै गर्ने पनि उनले बताए । उनका अनुसार यो चलचित्र पनि प्रेमकथामा आधारित रहने छ । उनको यो ११ औं फिल्म हो ।

यो चलचित्रमा सौरभ लामाको छायाँकन, महेश दवाडीको कथा, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, अमित कुमार बस्नेत, परि राना, अजित कुमार थापा, अंकित गौतमको निर्माण हुने छ ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यो सिनेमामा आकाश श्रेष्ठ, पुजा शर्मा र सोनम तोप्देनबीचको प्रेम देखाईने छ । यसमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतको पनि अभिनय रहने छ ।