निर्देशक पाण्डे भागेको नायिका दीपशिखाको आरोप  


ब्युटी न्युज नेपाल

काठमाडौं १२ माघ  

चलचित्र प्रेमलीलाकी नायिका दिपशिखा खड्काले फेसबुकमा स्टाटस लेख्दै सो फिल्मका निर्देशक जनक पाण्डेलाई गम्भिर आरोप लगाएकी छिन् । निर्देशकले फिल्म अलपत्र पारेर छाडेपछि आफैंले लगानी गरेर फिल्म पुरा गर्नु परेको उनको भनाई छ ।

उनले फिल्मको आधा छायाँकन सकिन लाग्दा फिल्म छायाँकन सेट छोडेर हिँडेका निर्देशक पाण्डेले आर्थिक हिनामिना गरेको आरोप लगाएकी हुन् । नायिका खड्काले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै फिल्ममा लागानी समेत गर्ने सर्तमा पाण्डे निर्देशक बनेको र छायाँकनको समयमा पैसा निकाल्न नसकी आफुसँग लिएको पैसाको समेत हिसाब किताब देखाउन नसकेर भागेको बताएकी छिन् । स्टाटसमा उनले भनेकी छिन्,‘मैले बारम्बार फोन सम्पर्क गरे, फेसबुकमा म्यासेज गरे कुनै जवाफ आएन त्यसपछी रिसले गाली गरेर म्यासेज गरे, पुलिस केस गर्ने धम्की दिए तर पनि केही सिप लागेन ।’

 निर्देशक पाण्डेले आफुलाई धोका दिएको कारण आफुले सुन र गाडी समेत बेच्न परेको गुनासो पोख्दै नायिका खड्काले निर्देशक पाण्डेकी श्रीमती बिष्णु चापागाई पाण्डेबाट आफुलाई विभिन्न अपशब्द सहितका म्यासेज आएको र आफुले मानसिक तनाब भोग्नु परेको बताएकी छिन् । यस विषयमा निर्देशक पाण्डेले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

यो फिल्मको प्रचार सामग्रीबाट उनले निर्देशकको नाम हटाएकी छिन् । हटाउनुको कारणबारे खड्काले भनिन्,‘जसले फिल्मको छायाँकन नै पुरा गरेको छैन उसलाई निर्देशक भनेर मेरो फिल्ममा राखिरहनुको कुनैऔचित्य छैन त्यसैले मैले नाम हटाएको हुँ ।’

आफुले निर्देशक पाण्डेका बिरुद्ध आफुले निर्माता संघ र निर्देशक संघमा निवेदन दिएको पनि खड्काले बताएकी छिन्,‘आशा छ म एक महिला भएर नेपाली फिल्म क्षेत्रमा केहि गर्छु भन्ने सोच सहित आएको मान्छेलाई निवेदनको आधारमा सम्बन्धित संस्थाले न्याय दिलाइदिनुहुनेछ ।’, उनले भनिन् ।

प्रेम कथामा आधारित यो फिल्मको कथा, पटकथा र संवाद समेत नायिका खड्काले नै लेखिकी हुन् । फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा नायिका खड्कासँगै अलि खान, मौसम खड्का लगायतको अभिनय छ ।