ब्युटी न्युज नेपाल

काठमाडौं ११ माघ 

अभिनेता हरिवँश आचार्यले अभिनेत्री निरुता सिंहसँग कम्मर मर्काउँदै नाचेर सबैलाई चकित तुल्याएका छन् । चलचित्र ‘दाल भात तरकारी’ को पहिलो गीत ‘भिजिट भिसामा…’ को भिडियोमा उनले यस्तो नृत्य गरेका हुन् ।

यो गीतको भिडियो शुक्रबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकारको अभिनय छ । गीतलाई त्रिभुवन विमानस्थल र हायात होटलसँगै उद्घघाटन भैनसकेको ‘गणतन्त्र पार्क’मा खिचिएको छ ।

गीतको भिडियोमा जोडी बनेका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंहको नृत्य आकर्षक छ । पुष्पल खड्का, बर्षा राउत, आँचल शर्मालाई पनि गीतमा त्रिकोणात्मक प्रेममा छन भन्ने बुझ्ना सकिन्छ । राजाराम पौडेलको पनि यसमा नृत्य छ ।

अग्रज संगीतकार शम्भुजीत बासकोटाको यसमा संगीत रहेको छ । हरिबँश आचार्यले लेखेको यो गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ । सुदन केसीको निर्देशनमा तयार भैरहेको फिल्मलाई मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका छन् ।

कार्यक्रममा बोल्दै निर्माता अग्रज हास्यकलाकार मदनकृष्ण श्रेष्ठले गीत एकदमै राम्रो भएको तर स्वास्थ्यको कारणले आफुले गीतमा अभिनय गर्न नपाएको बताए,‘मलाइ पनि निरुता सिंहको अपोजिटमा रहेर काम गर्ने रहर छ । यो राम्रो गीत मार्फत नै यसको मुल्यांकन गर्न सकिन्छ र यसमा कहिँ कतै सम्झौता गरिएको छैन ।’

 अर्का निर्माता एवम् हास्यब्याँग्य कलाकार हरिबँश आचार्यले दाल भात तरकारीमा आफुहरुले सकेको मेहनत गरेको बताए,‘फिल्मको गीत मात्र होइन, दृश्यमा पनि उत्तिकै मेहनत छ । हामीले दर्शकको रुचाइलाई मध्यनजर गर्दा यसलाई तयार गरेका छौ ।’ आचार्यले भने,‘ फिल्ममा मनोरंजन छ भने सचेतना पनि छ । हाम्रो कामले दर्शकको समय र पैसाको सदुपयोग नै गर्छ ।’

निर्माता कलाकार किरण केसीले दाल भात तरकारीलाई विना सम्झौता तयार गरेको बताए । त्यो कुरा गीतको दृष्यले प्रस्ट्याउने उनको कथन थियो,‘अघिल्लो फिल्म शत्रु गतेको सफलतापछि हामीमा दर्शकको विश्वास बढेको छ , जसलाई हामीले कति पनि डगमग हुन् दिएका छैनौ जस्तो लाग्छ । मेरो छोरा सुदनले विभिन्न फिल्ममा एडी भएर काम गरेर सबैको मन जितेपछि बल्ल डेब्यु गर्दैछ र म निकै हर्षित छु ।’ उनले भने ।

यस्तै निर्देशक  सुदन केसीले आफुले पाएको अवसरलाई चुनौतीको रुपमा पनि लिएको छु भने । उनले शत्रु गतेको सफलताले बढाएको जिम्मेवारीले अवसरसँगै चुनौती दिएको बताउँदै फिल्मले दर्शकको समय र पैसाको पूर्ण सदुपयोग गर्छ भने । आफुले मह सञ्चारको ब्यानरको प्रतिष्ठा बचाउने काम नै गरेको पनि उनले जिकिर गरे ।