मिल्यो बिबाद, युट्युवमा फिल्म गरुड पुराणको नाम परिर्वतन हुने


ब्युटी न्युज नेपाल
काठमाडौं १० माघ

चलचित्र गरुड पुराणको नाममाथि केही धार्मिक संस्थाले विरोध जनाएपछि निर्माण पक्षले यो फिल्मको नाम डिजिटल भर्सन (युट्युव) रिलिजमा केही परिर्वतन गर्ने भएको छ । धार्मिक ग्रन्थ गरुड पुराणको नाममा फिल्म बनाएको भन्दै सो नामको प्रयोग रोक्न दवाव दिँदै आएका थिए । उनीहरुले फिल्मको पोष्टर च्यात्ने लगायत विभिन्न दवाव दिँदै आएका थिए ।

बिहिबार निर्माण संस्था अजित फिल्म्स प्रा.लि. र केही धार्मिक संस्थाबीच भएको सहमतिपछि आगामी दिनमा नाम परिवर्तन हुनसक्ने यसका निर्माता सुसन प्रजापतिले जानकारी गराएका हुन् ।

बिहिबारसाँझ निर्माता प्रजापति र निर्देशक सुवास कोईरालाले एक विज्ञप्ति जारी गर्दै यो कुरा जानकारी गराएका हुन् । बिज्ञप्तिमा यस्तो देखिएको छ, ‘यस अजित फिल्म्स प्रा.लि. को ब्यानरमा निर्मित चलचित्र ‘गरुड पुराण’ को नामको विषयमा केही ब्यक्ति र संस्थाहरुले आबाज उठाएर आपत्ति जनाएकोमा हाम्रो ध्यानाकर्षण भएको छ । हिन्दु जागरण नेपाल, विश्व हिन्दु युवा संघ, अन्तराष्ट्रिय समिति लगायतले यो नाम प्रति आपत्ति जनाएको जानकारी हामीले पायौं । अत ः हामी हिन्दु सनातन धर्मावलम्बी भएको र आफ्नो धर्मको संरक्षण प्रति हामी जिम्मेवार भएकाले हामीले निर्माण गरेको चलचित्र गरुण पुराण भित्र धर्मलाई आँच आउने कुनै पनि विषयबस्तु नराखिएको जानकारी गराउँद छौं । साथै केन्द्रिय चलचित्र जाँच समितिले समेत नियम अनुसार हाम्रो सिनेमा हेरेर जाँच पास गरी प्रदर्शनीको लागि अनुमति दिएकाले सो अनुमति बमोजिम एक सातादेखि चलचित्र प्रदर्शन गरिएको जानकारी गराउँद छौं । हामीले गरुड भन्ने ब्यान्डको चर्चा अर्थात (पुराण)मा आधारित यो फिल्म बनाएकाले यसको नाम गरुड पुराण राखिएको पनि जानकारी गराउँद छौं । साथै हामीले राखेको नामबाट उहाँहरुलाई आँच पुगेकोमा हामी क्षमापार्थी छौं । आउँदा दिनमा यो नाम र यस्तो बिषयमा हामी गम्भिर रहने तथा अब उपरान्त चलचित्र गरुड पुराणको थप सामग्रीहरु युट्युव र अन्य सामाजिक संजालमा प्रदर्शन गर्दा चलचित्रको नाम परिवर्तन गरेर सार्वजनिक गर्ने प्रदिवद्दता ब्यक्त गर्दछौं ।’

यसरी फिल्मको नाममा परिवर्तन गर्ने भन्दै यी दुईले विज्ञप्ति जारी गरेका छन् । गत ४ माघबाट रिलिज भएको यो फिल्म शुक्रबारबाट दोस्रो सातामा रिलिज हुँदैछ । दोस्रो साता पनि काठमाडौं र मोफसल गरेर तीन दर्जन भन्दा बढी हलमा गरुड पुराण प्रदर्शन भईरहेको पनि निर्देशक कोईरालाले जानकारी गराए ।

यो चलचित्रमा नाजिर हुसेन, कर्मा, कामेश्वर चौरसिया, प्रविण खतिवडा, प्रियँका सिंह, कमल देवकोटा, लुनिभा तुलाधर, प्रकाश घिमिरेसहितको अभिनय छ ।