चलचित्र रणवीरमाथि चितवनमा बहस 


ब्युटी न्युज नेपाल

काठमाडौं, ९ माघ 

मोफसल यात्राकोे क्रममा चलचित्र रणवीरको टिमले चितवन पत्रकार भेटघाट गर्दै सिनेकाकोबारे जानकारी गराएको छ । १८ माघबाट रिलिज हुने यो फिल्मका कलाकारले पत्रकार भेटघाटका क्रममा सिनेमामा आफ्नो भूमिकाबारे अबगत गराए ।

कलाकारहरुमा नरेश पौडेल, सुशिल सिटौला, सुभच्क्षा खड्का, सुपुष्पा भट्ट, निर्माताद्वय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले सञ्चारकर्मीसँग साक्षात्कार गरेका हुन् । कार्यक्रममा सुशिल सिटौलाले फिल्ममा आफुले एउटा देशभक्त युवाको भूमिका निर्वाह गरेको बताए । जसले एक युवाले माया, मित्रता र परिवारसँगै राष्ट्रको लागि पनि केही गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको जानकारी उनले गराए ।

सुशिललाई नै रणवीर बनाउनुको कारण र शुभेच्छाले डेब्यु फिल्म रणवीरनै रोज्नुको कारण बारे स्थानीय सञ्चारकर्मीले जिज्ञाषा राखेका थिए । सन् २०१२ कि मिस इन्टरनेशनल शुभेच्छा खड्काले यसै फिल्मबाट डेब्यु गर्न लागेकी हुन् ।

यस विषयमा अभिनेत्री शुभेच्छाले भनिन्,‘मैले यस फिल्मलाई डेब्यु रोज्नुको कारण कथावस्तु नै हो । यसमा मेरो रोल मात्र होइन, पछिल्लो समय बनिरहेका फिल्मको तुलनामा यो टेक्निकली मात्र होइन कथा वस्तुको हिसाबले पनि राम्रो छ ।’

सो जिज्ञाँसामा निर्माता दीपेन्द्र रेग्मीले शुशिलले रणवीर चरित्रमा आफुलाई हरेक रुपमा ढाल्न सकेकाले उनलाई राखेको प्रस्ट्याए । उनले रणवीर मनोरञ्जनसँगै सन्देश प्रधान सिनेमा भएको जिकिर गरे । पत्रकार सम्मेलनमा सुपुस्पाले पनि फिल्म डेब्युलाई प्रस्ट्याइन ।

साउथ इण्डियन फिल्म टिममा समेत काम गरिसकेका गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा टिका पहाडी, रवी गिरी, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतको पनि अभिनय रहेको छ ।

फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ ।

यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । रणवीरमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।