अभिनेत्री वर्षा र अभिनेता संजोगको विवाह मिति पक्का


ब्युटी न्युज नेपाल
काठमाडौं, २ माघ

अभिनेत्री वर्षा राउत र अभिनेता सँजोग कोईरालाले २ फागुनमा विवाह गर्ने भएका छन् । पाँच वर्ष लामो प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गर्न उनीहरुले विवाहको मिति २ फागुन रोजेका हुन् । आफुहरु प्रेम सम्बन्धमा रहेकाले विवाह पनि प्रेम दिवसकै दिन गर्न लगेको अभिनेत्री वर्षाले बताईन् । उनीहरुले आउँदो प्रेम दिवसको अबसर पारेर २ फागुनमा विवाहको घोषणा गरेका छन् ।

विवाहको लागि यसै साता दिल्ली गरेर यी दुईले किनमेल पनि गरिसकेका छन् । अब विवाहको निम्ता कार्ड छाप्ने, निम्ता गर्ने लगायतको काममा आफुहरु जुटेको पनि वर्षाको भनाई छ ।

चलचित्र नाई नभन्नु ल ४ बाट नायिकाको रुपमा नेपाली चलचित्रमा आएकी अभिनेत्री वर्षाले त्यसपछि छक्का पञ्जा, छक्का पञ्जा २, जात्रा, मिस्टर झोले जस्ता हिट फिल्ममा काम गरिसकेकी छिन् । उनको अहिले नयाँ चलचित्र चौका दाउ देशव्यापी रुपमा प्रदर्शन भईरहेको छ भने १८ माघबाट अर्को चलचित्र गोपी रिलिज हुँदैछ ।

यस्तै सँजोगले पनि आधा दर्जन भन्दा बढी चलचित्रमा नायकको भूमिका निर्वाह गरिसकेका छन् । उनको पछिल्लो चलचित्र कथा काठमाडौं र नाई नभन्नु ल ३ हालै रिलिज भएको थियो ।

पाँच वर्ष अघि चलचित्र सरी लको अभिनय कार्यशालामा यी दुईको भेट भएको थियो । त्यसपछि सो फिल्ममा यी दुईले काम नगरे पनि उनीहरुको प्रेम सम्बन्ध निरन्तर अघि बढ्यो ।