सानो मन निर्माण हुँदै, आयुष्मान र शिल्पाको जोडी


ब्युटी न्युज नेपाल
काठमाडौं, १ माघ

यसै हप्ताबाट छायांकन सुरु हुने नयाँ चलचित्र ‘सानो मन’मा आयुष्मान देशराज जोशी र शिल्पा मास्के जोडी बनेका छन् । यसलाई सुयोग गुरुङको डेब्यु निर्देशन गर्दै छन् ।

म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्मको माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ । मंगलवार माघे संक्रान्तिको अवसरमा राजधानीमा एक कार्यक्रम बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ ।

‘सानो मन’मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको जोडी बाँधिएको छ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ ।

यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन् । आयुष्मानले ’सानो मन’ फिल्म आफूले धेरै अगाडि साइन गरेको बताए । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा फिल्मको स्क्रिप्ट सुनिसकेको बताइन् ।

फिल्मको घोषणा सभामा आयुष्मान भने, ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो । फिल्मको स्टोरी नर्मल छ, मिठो छ, छोटो छ र राम्रो छ ।’ अभिनेत्री शिल्पाले भने स्क्रिप्ट मन परेका कारण फिल्म छाड्न नसकेको बताइन् । उनी यस फिल्ममा सानियाको भूमिकामा देखिनेछिन् ।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा फिल्म बन्न लागेको हो । आलोक शुक्लाले खिच्ने फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ । यसमा सुयोग सोताङको संगीत रहनेछ ।