लभ र एक्सनको एउटै प्याकेज रणवीरको ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ पुष

चलचित्र ‘रणवीर’ को ट्रेलर शुक्रबार राजधानीमा एक समारोहबीच रिलिज गरिएको छ । रणवीरको ट्रेलरमा बेरोजगार युवाको संघर्ष, उसको प्रेममा आरोह, अवरोहसँगै वियोग र प्रेम असफल तुल्याउनहरुसँगको बदलालाई प्रस्तुत गरिएको छ । १८ माघबाट रिलिज हुने यो फिल्मको ट्रेलरमा लभ र एक्सनलाई एउटा मिठो प्याकेजको रुपमा प्रस्तुत गरिएको छ ।

ओएसआर डिजिटलले रिलिज गरेको ३ मिनट १७ सेकेन्डको ट्रेलरले नेपाली फिल्ममा एक्सनको नयाँ अध्याय सुरु भएको दर्शाउँछ । हलिउड, बलिउड देखि दक्षिण भारतीयसम्मका फिल्मको एक्सनको तुलनामा नेपाली फिल्मको एक्सन फित्तलो भएको टिप्पणी दर्शकबाट बारम्बार आएको थियो । यो बेला रणवीरको ट्रेलरले नेपाली फिल्ममा अन्तराष्ट्रिय गुणस्तरको द्धन्द्ध हेर्ने दर्शकको चाहनालाई पुरा गरेको संकेत दिन्छ ।

ट्रेलरमा मुख्य कलाकार शुशिल सिटौला र प्रशान्त ताम्राकारबीचको द्धन्द्धलाई देखाईएको छ । नायिकाहरु शुभेच्छा खड्का र सुपुष्पा भट्ट यो द्धन्द्धको कारकतत्व बनेका छन् । खल कित्ताका नरेश पौडेल, रबी गिरीलगायतले द्धन्द्धको आगोमा घ्यू थपेको ट्रेलरले दर्शाउँछ । चन्द्र पन्तको द्धन्द्ध निर्देशनले फिल्मको उचाई चुल्याएको ट्रेलरबाट प्रस्टिएको छ ।

फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द निर्देशन, रामजी लामिछाने र सुरेन्द्र बसेलको नृत्य निर्देशन छ । फिल्मको ट्रेलर साहिल खानले तयार गरेका हुन् ।

रणवीरलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । दक्षिण भारतीय फिल्ममा केही वर्ष सह निर्देशकको काम गरेका भण्डारीले प्रेम, वियोग र एक्सनलाई तुलाना गर्दा दक्षिण भारतीय फिल्मको स्थान नेपालमा रणवीरले बनाउने समीक्षकहरुको भनाई छ । निर्देशक भण्डारीले अहिलेको दर्शकको स्वाद अनुसारको चलचित्र आफुले बनाएको बताएका छन् । यस अघि भारतीय फिल्ममा काम गर्दा गर्दै नेपालमा केही गर्नुपर्छ भनेर यहाँ आएर केही सिनेमाको सह निर्देशन पछि रणवीर निर्देशन गरेको उनले जानकारी गराए ।

यस अघि चलचित्र गाजा बाजा निर्माण गरिसकेका निर्माताद्धय गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले रणवीरलाई राम्रो सिनेमा बनाउन कुनै कन्जुस्याई नगरेको बताए । दुई करोड भन्दा माथिको बजेटको यो फिल्मले दर्शकलाई नयाँ स्वाद पस्कने पनि यी निर्माताको विश्वास छ ।

चलचित्रको कथा अनुसार आफुलाई प्रस्तुत गर्न ६ महिनाको शारीरिक सुगठन अभ्यास पछि १५ केजी तौल बढाएर रणवीरमा उत्रिएको अभिनेता शुशिलले बताए । द्धन्द्ध प्रधान सिनेमा मध्य आफुले सबैभन्दा बढी मेहनत रणवीरमा गरेको खल अभिनेता प्रशान्त ताम्राकारको कथन थियो । अभिनेत्री सुभेच्छा खड्काले पनि सिनेमाका कथा देखि आफ्नो भूमिका प्रभावशाली भएकै कारण रणवीरबाट डेब्यु गरेको कार्यक्रममा खुलाईन् ।